काठमाडौं । नेपाली सुन्दरी सेजल राजभण्डारीले प्रतिष्ठित विश्वव्यापी सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२६’ मा नेपालको तर्फबाट ऐतिहासिक सफलता हासिल गरेकी छन् ।
संसारभरका प्रतिभावान सुन्दरीहरूसँग प्रतिस्पर्धा गर्दै सेजल शीर्ष १० को स्थानमा पुग्न सफल भएकी हुन् ।
वातावरण र दिगो विकासको मुद्दालाई केन्द्रमा राखेर आयोजना गरिने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सेजलले आफ्नो सौन्दर्यसँगै पर्यावरण संरक्षणप्रतिको प्रतिबद्धता र बौद्धिक क्षमतालाई प्रष्ट रूपमा प्रदर्शन गरेकी थिइन् । उनको यो सफलताले विश्व मञ्चमा नेपाली युवाहरूको क्षमता र सुन्दरतालाई पुन:स्थापित गराएको छ ।

नेपालमा यो प्रतियोगिताको व्यवस्थापन गरिरहेको संस्था ग्रिन आट्र्स मिडिया प्रालिले सेजलको यो गर्विलो यात्रामा साथ दिने सबैप्रति आभार प्रकट गरेको छ । संस्थाकी नेशनल डाइरेक्टर अनिला श्रेष्ठले नेपाली प्रतिभालाई वैश्विक प्लेटफर्म प्रदान गर्न खेलेको नेतृत्वदायी भूमिकाको समेत प्रसंशा गरिएको छ ।

ग्रिन आट्र्स मिडियाले सेजल राजभण्डारीको सुखद र उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि यस्ता प्रतिभाहरूलाई मञ्च दिइरहने प्रतिबद्धता जनाएको छ ।
