काठमाडौं । काठमाडौंको जडिबुटीमा गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको ‘लुटेरा’ पूर्व प्रहरी भएको खुलेको छ ।
शनिबार साँझ प्रहरीले गोली प्रहार गरेर बुढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्कीलाई पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिन खोज्दा आरोपीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई नै आँखामा खुर्सानीको धुलो छर्केर खुकुरी प्रहार गर्न खोजेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दाबी गरे ।
यसअघि उनलाई प्रहरीले काठमाडौँको कपनमा पक्राउ गर्न खोजेको थियो । त्यसबेला प्रहरीको आँखामा धुलो हालेर उनी उम्किन सफल भएका थिए । एसपी भट्टराई भन्छन्, ‘उनले यसअघि पनि प्रहरीलाई आँखामा धुलो हालेर भागेका थिए ।’
आरोपी पूर्व प्रहरी हुन् । २०६१ मा जवानमा भर्ना भएका उनले २०६४ मा जागिर छाडेका थिए । जेठ १६ मा सुकेधारामा एक जना महिलाको आँखामा खुर्सानीको धुलो हालेर सुनको सिक्री लुटेर भागेको सूचना आएपछि प्रहरीले उनलाई पछ्याएको थियो ।

लुटपाटमा संलग्न इलाम घर भएर विभिन्न धर्मशालामा बस्ने ३१ वर्षीय विष्णु गुरुङलाई प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएर कार्कीलाई पछ्याएको थियो । साँझ कार्की र प्रहरीको बिचमा जम्काभेट भयो ।

गोली प्रहारबाट घाइते भएका कार्की जेनजी आन्दोलन हुँदा भदौ २४ मा केन्द्रीय कारागारबाट भागेका थिए । उनी डाँकाचोरी मुद्दामा जेल परेका थिए ।

कारागारबाट भागेपछि मात्रै उनी १० वटा अपराधमा संलग्न भएको प्रहरीको अपराध अभिलेख प्रणालीमा देखिएको छ । यसअघि उनी विरुद्ध अभद्र व्यवहार, कर्तव्य ज्यान, हातहतियार खरखजाना र डाँकाचोरी मुद्दामा ५ पटक मुद्दा चलेको भेटिएको छ । २०६४ देखी नै उनी अपराधमा संलग्न थिए ।
प्रहरीले प्रहार गरेको गोली उनको बायाँ खुट्टामा लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । प्रहरीका अनुसार २०८२ भदौ २४ पछि उनी संलग्न अपराध यस्ता छन् ः