काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री बालेन साहले संघीय संसदको रोष्ट्रमबाट नेपालले भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर तथ्यहीन कुरा प्रस्तुत गरेको बताएका छन् ।
कर्पोरेट खबरसँग कुरा गर्दै श्रेष्ठले हालसम्म नेपालले भारतको कुनै भूभाग अतिक्रमण गरेको प्रमाण नभएको भन्दै प्रधानमन्त्रीको भनाइले राष्ट्रिय सार्वभौमसत्ता र स्वाभिमानमाथि नै प्रश्न उठाउन सक्ने बताएका हुन् ।
आइतबार संघीय संसदको बैठकमा प्रतिपक्षी सांसदहरूले भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरेको तथा नेपालको सहमतिबिना विभिन्न गतिविधि सञ्चालन गरिरहेको विषयमा सरकारको धारणा माग गरेका थिए ।
सोही क्रममा प्रधानमन्त्री साहले सरकारले सीमा विवादबारे भारतलाई कूटनीतिक नोट पठाइसकेको जानकारी दिँदै नेपालले पनि भारतको केही भूमि प्रयोग गरिरहेको दाबी गरेका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक दल, नागरिक समाज र विभिन्न सरोकारवाला निकायले नेपालले भारतको कुन भूभाग मिचेको हो भन्नेबारे स्पष्ट तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेका छन् ।


प्रधानमन्त्रीको गम्भीर दाबी– नेपालले पनि भारतको जग्गा मिचेको रहेछ