काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशालाको जेठ २० बुधवार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओली पहिलो पटक उक्त दिन सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।
पार्टीको सांगठानिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको कार्यशालामा सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवास समेत) को सहभागिता रहने एमालेले जनाएको छ ।
त्यस्तै पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूका साथै जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य उपस्थिति रहनेछ ।

दुई दिने कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे सघन छलफल तथा उत्प्रेरणामूलक अभिमुखीकरण गरिने बताइएको छ ।
