काठमाडौं । जेन–जी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गरेको आरोपमा समातिएका पाँच युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
हात्तीको दाह्रा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक घर भई तार्केश्वर–१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं–१७ घर भएका २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा नगरपालिका–२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल छन् ।
मनमैजु एरियामा राजिव महर्जनसमेत व्यक्तिहरूले वन्यजन्तु हात्तीको दाह्रा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता शरद थापाले बताए ।