काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान सरकारले ल्याएको बजेट २०४८ सालयताकै सबैभन्दा उद्योग व्यवसाय मैत्री रहेको दाबी गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रका लामो समय देखिका समस्या समाधान गर्ने उद्देश्यका साथ बजेट ल्याइएको बताए।
अर्थमन्त्री वाग्लेले उद्योगी व्यवसायीले उठाउँदै आएका झन्झटिला प्रशासनिक प्रक्रिया सरलीकरण गरिएको, अनावश्यक करका दर हटाइएको, विभिन्न क्षेत्रमा कर छुटको व्यवस्था गरिएको तथा निजी क्षेत्रमैत्री नीति अवलम्बन गरिएको बताए। सबै नागरिकलाई करको दायरामा ल्याउने नीतिसमेत बजेटमा समेटिएकाले यो २०४८ सालपछि कै उत्कृष्ट बजेट भएको उनको दाबी थियो।
उनले बजेट कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी वर्षको बजेट निर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए। सरकारले पाँच वर्षे कार्ययोजनाका आधारमा आर्थिक सुधारका कार्यक्रम अघि बढाइरहेको पनि उनले बताए।
अर्थमन्त्री वाग्लेले नेपालमा राजनीतिक अस्थिरताको अवस्था अन्त्य हुँदै गएको दाबी गर्दै निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले वर्तमान सरकारको प्रमुख लक्ष्य सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै गल्ती गर्नेले उन्मुक्ति नपाउने र निर्दोष नागरिक कुनै पनि हालतमा दण्डित नहुने स्पष्ट पारे। उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धि गर्ने वातावरण निर्माणमा केन्द्रित रहेको बताए ।
