काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयअन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
उनीविरुद्ध कैद र जरिवानाको मागदाबीसहित आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार राईले बालविकास सहजकर्ताको राष्ट्रसेवक पदमा नियुक्ति लिन कक्षा ८ र एसएलसीको लब्धाङ्कपत्र (मार्कसिट) तथा चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट)झुट्टा तथा नक्कली पेस गरेको पुष्टि भएको छ।
राईविरुद्ध झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा गरिएको अनुसन्धानबाट राईले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सरकारी सेवा तथा सुविधा प्राप्त गरेको देखिएको आयोगको दावी छ।