काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्वको कार्यशैली र पार्टी सञ्चालनप्रति असन्तुष्टि चुलिँदै गएको छ।
पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ३६ बुँदे असन्तुष्टि पत्र बुझाउँदै नेतृत्वविरुद्ध खुला विद्रोहको संकेत दिएका छन्।
खनालले पार्टी नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै वर्तमान नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको निष्कर्ष प्रस्तुत गरेका छन्। उनले पार्टी एकता, वैचारिक स्पष्टता, संगठनात्मक पुनर्गठन तथा कार्यदिशा निर्माणमा नेतृत्व असफल भएको आरोप लगाएका छन्।
असन्तुष्टि पत्रमा खनालले नेकपाको अन्तरिम विधानलाई ‘सार–सङ्ग्रहवादी खिचडी विधान’ को संज्ञा दिएका छन्। यस्तो विधानबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसक्ने र पार्टीको वैचारिक धरातल कमजोर बन्दै गएको उनको भनाइ छ।
खनालले वर्तमान नेतृत्वबाट पार्टीलाई महाधिवेशनसम्म सफलतापूर्वक लैजान नसकिने दाबी गर्दै नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गरेका छन्। उनले पार्टीभित्र लोकतान्त्रिक बहस, वैचारिक स्पष्टता र संगठनात्मक अनुशासन कमजोर बन्दै गएको भन्दै त्यसको जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने बताएका छन्।

३६ बुँदे असन्तुष्टि पत्रमा उनले पार्टी सञ्चालनमा देखिएको व्यक्तिवाद, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, संगठन विस्तारमा कमजोरी तथा वैचारिक विचलनका विषयलाई समेत उठाएका छन्। पार्टीभित्र बढ्दो असन्तुष्टि समाधान गर्न नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने उनको जोड छ।

खनालको यो कदमलाई नेकपाभित्र देखिएको आन्तरिक विवादको नयाँ मोडका रूपमा हेरिएको छ। स्रोतका अनुसार उनले पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल ले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने धारणा समेत राखेका छन्।

नेकपाभित्र नेतृत्व, संगठन र कार्यदिशालाई लिएर बढ्दो असन्तुष्टिका बीच खनालको यो ३६ बुँदे पत्रले पार्टीभित्र नयाँ बहस र ध्रुवीकरणको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।