काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बीमकहरूबाट प्राप्त हुने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कहरूमा एकरूपता तथा गुणस्तर सुनिश्चित गर्ने, आइआरएमआइएसमा डाटा रिपोर्टिङमा गरिएका परिवर्तनका बारेमा जानकारी दिने र डाटा रिपोर्टिङमा देखिएका समस्याहरूका सम्बन्धमा छलफल गरी समाधानका उपायहरू पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा सम्बन्धी अध्ययन एवम् अनुसन्धानमा तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने भएकाले तथ्याङ्कमा शुद्धता, एकरूपता र विश्वसनीयता कायम गर्न आवश्यक भएको बताए।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले बीमा सम्बन्धी तथ्याङ्क प्रणालीमा देखिएका समस्याहरूको समाधानका लागि सहकार्य गर्न र सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिइन्।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले प्राधिकरणबाट गरिएका बीमा सम्बन्धी अध्ययन तथा अनुसन्धानका क्रममा देखिएका समस्या, चुनौती र अवसरहरू सम्बन्धी प्रस्तुत गरेका थिए।

सहायक निर्देशक शर्माले बीमा सम्बन्धी अनुसन्धानका लागि आवश्यक तथ्याङ्क समयमैं उपलब्ध हुनुपर्ने, तथ्याङ्कहरूमा एकरूपता कायम हुनुपर्ने, बीमकहरूले अनुसन्धानसँग सम्बन्धित सम्पर्क व्यक्ति तोक्नुपर्ने, अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने र अनुसन्धानका लागि स्रोत तथा साधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
यसैगरी नेपाल बीमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले प्राधिकरणले बीमकहरूबाट सङ्कलन गर्ने तथ्याङ्का आधार तथा माध्यम, तथ्याङ्क सङ्कलन प्रणालीमा गरिएका परिवर्तन र बीमकले पेश गर्ने तथ्याङ्कमा प्राधिकरणको अपेक्षा लगायतका विषयमा प्रस्तुती गरेका थिए।
कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका तथ्याङ्क, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम कमला घर्तीले गरेका हुन्।