काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आईईएलटीएस पार्टनर समिट २०२६ गरेको छ । आईईएलटीएस परीक्षा सञ्चालन, अन्तर्राष्ट्रिय शिक्षा तथा रोजगारीका अवसरमा नेपाली विद्यार्थीको पहुँच विस्तार गर्न उल्लेखनीय योगदान पुर्याउने आफ्ना उत्कृष्ट साझेदार संस्थाहरूलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपालभरका शैक्षिक परामर्शदाता, साझेदार संस्था तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । समिटमा ब्रिटिस काउन्सिल र साझेदार संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने, अन्तर्राष्ट्रिय शिक्षा तथा रोजगारीका अवसरमा नेपाली विद्यार्थीको पहुँच बढाउने र आगामी दिनमा अझ गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो ।
यस अवसरमा सन् २०२५ को अप्रिलदेखि २०२६ को मार्चसम्म आईईएलटीएस परीक्षा दर्ता तथा सेवा विस्तारमा उत्कृष्ट योगदान पुर्याउने संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
प्लाटिनम पार्टनर अवार्ड अर्बिट मेडिकल इन्ट्रान्स प्रालिलाई, टप एसोसिएसन अवार्ड एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) लाई, गोल्ड अवार्ड केआईईसी लर्निङ सेन्टर प्रालिलाई, सिल्भर अवार्ड द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी प्रालिलाई तथा ब्रोन्ज अवार्ड एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस, एसीसी स्टडी अब्रोड कन्सल्टेन्ट प्रालि, एओपी ग्लोबल कन्सल्टेन्ट, आईईएलटीएस सेन्टर प्रालि र ब्रिज इन्टरनेसनल ग्रुप प्रालिलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै ब्रिटिस काउन्सिल नेपालका परीक्षा सम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले साझेदार संस्थाहरूले हजारौँ नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, रोजगारी र आप्रवासनका अवसरसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले नेपालमा कम्प्युटरमार्फत सञ्चालन हुने आईईएलटीएस परीक्षा सेवा विस्तार गरिएको जानकारी दिइन् । अब परीक्षार्थीले कम्प्युटर तथा कागजी दुवै माध्यमबाट परीक्षा दिन सक्ने र यसबाट परीक्षा प्रक्रिया अझ सहज, लचिलो तथा छिटो नतिजा प्राप्त हुने व्यवस्था भएको उल्लेख गरिन् ।

ब्रिटिस काउन्सिल नेपालका व्यवसाय विकास प्रमुख सुदर्शन सुवेदीले पनि साझेदार संस्थाहरूले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले कम्प्युटरमार्फत सञ्चालन हुने आईईएलटीएस सेवाले अंग्रेजी भाषा परीक्षणलाई अझ सहज, आधुनिक र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे । अंग्रेजी भाषा शिक्षण, सिकाइ तथा मूल्यांकन सेवामार्फत दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक सीप विकासमा ब्रिटिस काउन्सिल निरन्तर सक्रिय रहने बताए ।