काठमाडौं । अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्ट २० स्मार्टफोन सार्वजनिक गरेको छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) आधारित स्मार्ट फिचर, स्पष्ट फोन कल, लामो ब्याट्री ब्याकअप, सहज कार्यसम्पादन र मजबुत डिजाइनलाई प्राथमिकतामा राखेर ल्याइएको यो स्मार्टफोन दैनिक प्रयोगकर्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, स्मार्ट २० मा प्योर भ्वाइस टेक्नोलोजी र भ्वाइसप्रिन्ट न्वाइज रिडक्सन प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्ताको आवाजलाई पहिचान गरी वरपरको अनावश्यक आवाज कम गर्छ । यसका कारण भीडभाड, सार्वजनिक यातायात वा कार्यालयजस्ता स्थानमा पनि स्पष्ट रूपमा फोनमा कुराकानी गर्न सकिने कम्पनीको दाबी छ ।
फोनमा ६.७८ इन्चको पञ्च–होल डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ, जसले स्क्रोलिङ, भिडियो हेर्ने तथा टच अनुभवलाई अझ सहज र स्मुथ बनाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, मिडियाटेक हेलियो जी–८१ अल्टिमेट प्रोसेसर प्रयोग गरिएको यस स्मार्टफोनले दैनिक प्रयोग, मल्टिटास्किङ र मनोरञ्जनका लागि भरपर्दो कार्यसम्पादन दिने बताइएको छ । कम्पनीका अनुसार, यो डिभाइस ४८ महिनासम्मको फ्लुएन्सी सर्टिफिकेसनसहित आएको छ, जसले लामो समयसम्म सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

स्मार्ट २० मा ५२ सय एमएएच क्षमताको ब्याट्री र ७.७ मिलिमिटर अल्ट्रा–स्लिम डिजाइन रहेको छ । यसले दिनभरको ब्याट्री ब्याकअपसँगै आरामदायी प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
साथै, अल्ट्रालिंक फ्रि कल सुविधामार्फत मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा पनि करिब एक किलोमिटरसम्म कल तथा सन्देश आदान–प्रदान गर्न सकिने विशेषता समावेश गरिएको छ ।
फोनमा एआई राइटिङ, गीत पहिचान, स्क्यान–टु–डकुमेन्ट, स्पिकर क्लिनर, वन–ट्याप क्वेरी र फोलाक्स ५.० एआई सहायक लगायतका कृत्रिम बुद्धिमत्ता फिचरहरू पनि उपलब्ध छन्, जसले दैनिक कामलाई अझ सहज, छिटो र स्मार्ट बनाउने कम्पनीले जनाएको छ ।
टिकाउपनका हिसाबले स्मार्ट २० मा आईपी–६४ पानी तथा धुलो प्रतिरोधी, भिजेको वा चिल्लो हातले पनि सहज सञ्चालन हुने सुविधा तथा १.५ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने क्षमता जस्ता सुविधा समावेश गरिएका छन्, जसले दैनिक प्रयोगमा थप सुरक्षा र विश्वसनीयता प्रदान गर्ने बताइएको छ ।
इन्फिनिक्स स्मार्ट २० दुई भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको मोडलको मूल्य १९ हजार ९९९ र ४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २१ हजार ९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ । यो स्मार्टफोन नेपालभरका आधिकारिक इन्फिनिक्स बिक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रहरूमा उपलब्ध रहेको छ ।