काठमाडौं । सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो ।
सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । उनले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको बताए भने राष्ट्रिय सदाचार नीति २०८३ जारी गरिएको समेत बताए । पोखरेलले १० वटा सहकारीबाट २ करोड ६३ लाख ९० हजार बचत फिर्ता दिइएको समेत जानकारी दिए ।
मल, औषधि तथा अत्यावश्यक औषधि खरिदलाई सहजीकरण गर्न सार्वजनिक खरिद दोस्रो संशोधन सङ्घीय संसदमा पेस भएको जानकारी समेत उनले दिए । सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता पोखरेलले भने, ‘सङ्घीय मन्त्रालयको बोझिलो संरचना थियो । बाचा पत्रमा नै घटाएर १८ मा सिमित गरेका छौँ । मन्त्रिपरिषद् १७ सदस्यीय गठन गरेका छौँ । २० अर्ब रकम बचत हुने अनुमान गरेका छौँ ।’

सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताएको छ ।
सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी २०८३ वैशाख १७ सम्म ६७ करोड रुपैयाँ रहेकोमा करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताए ।
सरकारले झन्डै दुई हजार नागरिकले फ्री हेल्थ पोर्टलमार्फत सेवा लिएको उनको भनाइ छ ।