काठमाडौं । अमेरिकाका चार राज्यले सामाजिक सञ्जाल कम्पनी मेटामाथि १.४ खर्ब अमेरिकी डलर जरिवाना लगाउन अदालतसँग माग गरेका छन् । कम्पनीले आफ्ना फेसबुक र इन्स्टाग्राम मञ्चलाई युवाहरूमा लत बस्ने गरी विकास गरेको तथा उनीहरूको सुरक्षाबारे जनतालाई भ्रममा पारेको आरोप लगाइएको छ ।
क्यालिफोर्निया, कोलोराडो, केन्टकी र न्युजर्सी राज्यले दायर गरेको मुद्दामा जरिवानाको आधार मेटाका गतिविधिबाट प्रभावित भएको अनुमान गरिएका किशोर र युवा प्रयोगकर्ताको संख्यालाई बनाइएको जनाइएको छ । यो रकम मेटाको बजार मूल्यसँग झन्डै बराबर रहेको बताइएको छ ।
मेटाले भने यस्तो जरिवानाको कुनै कानुनी वा तथ्यगत आधार नभएको दाबी गर्दै उपभोक्ता संरक्षणको इतिहासमै यति ठूलो सजायको उदाहरण नरहेको जनाएको छ । कम्पनीले फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्तामा लत सिर्जना गरेको आरोप पनि अस्वीकार गरेको छ । यसैबीच, थप १४ राज्यले पनि आफ्ना कानुनअनुसार मेटाविरुद्ध मुद्दा दायर गरेका छन्, जसको छुट्टै सुनुवाइ आगामी फेब्रुअरीमा हुनेछ ।
यस्तै, २९ राज्यले संघीय अदालतमा दायर गरेको अर्को मुद्दामा मेटाले अभिभावकको स्पष्ट सहमतिबिना बालबालिकाको तथ्याङ्क संकलन गरेर बालबालिकाको अनलाइन गोपनीयता सम्बन्धी संघीय कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । यी सबै मुद्दाको सुनुवाइ आगामी अगस्टमा हुने तय भएको छ ।