काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा र हाल सम्पत्ति शुद्धीकरणसहित विभिन्न चार मुद्दामा कारागारमा रहेका दीपक भट्टबीच व्यावसायिक सम्बन्ध रहेको देखाएको छ ।
अनुसन्धानका क्रममा देउवा र भट्टबीच अढाई करोड रुपैयाँभन्दा बढीको शंकास्पद वित्तीय कारोबार भएको प्रारम्भिक तथ्य फेला परेपछि विभागले जयवीरलाई अनुसन्धानको दायरामा ल्याएको हो ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
सूचनामा अनुसन्धानका क्रममा केही विषयमा जानकारी लिनुपर्ने भएकाले ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ । तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम थप प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
भट्टमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विस्तार हुँदै जाँदा उनीसँग जोडिएका विभिन्न कम्पनी, बैंकिङ कारोबार र लगानीको विश्लेषण गर्ने क्रममा जयवीर देउवासँगको आर्थिक सम्बन्ध खुलेको हो । पछिल्ला करिब डेढदेखि दुई वर्षको अवधिमा भएका ती कारोबारको विवरण संकलन गरी विभागले थप अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानमा जयवीर देउवासँग सम्बन्धित कम्पनीमा भट्टको समेत लगानी रहेको देखिएको विभागको दाबी छ । यही आधारमा दुवै पक्षबीचको व्यावसायिक सम्बन्ध, लगानीको स्रोत तथा कारोबारको उद्देश्यबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ ।
अनुसन्धान अधिकारीहरूका अनुसार अहिले बैंकिङ कारोबार, कम्पनीका कागजात, लगानीको स्रोत तथा आर्थिक लेनदेनसँग सम्बन्धित प्रमाण संकलन गर्ने काम भइरहेको छ । आवश्यक परे सम्बन्धित व्यक्ति, कम्पनीका प्रतिनिधि तथा अन्य सरोकारवालासँग बयान लिने तयारी पनि गरिएको छ । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मात्रै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
यही अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री देउवाका साला भूषण राणाको पनि भट्टसँग शंकास्पद आर्थिक कारोबार हुन सक्ने आशंकामा विभागले आवश्यक कागजात संकलन गरी अनुसन्धान अघि बढाइरहेको बताइएको छ ।
पछिल्लो समय देउवा परिवारसँग सम्बन्धित विभिन्न विषयमा सरकारी निकायहरूको अनुसन्धान चलिरहेका बेला जयवीर देउवामाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको हो ।
यसअघि राहदानी खरिद प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देउवापत्नी आरजु राणा देउवा लाई बयानका लागि बोलाएको थियो । उनी उपस्थित नभएपछि अख्तियारले सम्बन्धित सरकारी अधिकारीविरुद्ध मुद्दा दायर गर्दै आरजुमाथिको अनुसन्धान भने जारी रहने जनाएको छ ।
यतिबेला शेरबहादुर देउवा र आरजु राणा देउवा हङकङमा रहेको बताइएको छ । उनीहरूले साउनको अन्तिम सातासम्म नेपाल फर्किएर सम्बन्धित निकायको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यद्यपि, जयवीर देउवा नेपालमै छन् वा विदेशमा रहेका आफ्ना अभिभावकसँगै छन् भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
अब विभागले जारी गरेको सूचनाअनुसार जयवीर देउवा तोकिएको सातदिने म्यादभित्र उपस्थित भएर अनुसन्धानमा सहयोग गर्छन् वा गर्दैनन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यदि उनी तोकिएको समयमा उपस्थित नभए कानुनबमोजिम विभागले थप प्रक्रिया अघि बढाउन सक्छ। अनुसन्धानको निष्कर्षपछि मात्र उनीमाथि कुनै कानुनी कारबाही हुने वा नहुने विषय टुंगो लाग्नेछ ।