काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ।
क्यान्सर रोगको उपचारका क्रममा श्रेष्ठको आज जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको परिवारले जनाएको छ।
श्रेष्ठको पार्थिव शरीर भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जनाइएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वकार्यवाहक सभापति तथा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले पार्टीमा उपसभापति, कार्यवाहक सभापतिलगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए। उनले सरकारमा उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए।
स्याङजा जिल्लाका प्रभावशाली नेताका रूपमा परिचित श्रेष्ठ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए। पार्टी संगठन निर्माण तथा राष्ट्रिय राजनीतिमा उनको महत्वपूर्ण भूमिका रहेको कांग्रेस नेताहरू बताउँछन्।
उनको निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।