काठमाडौं । ११ लाख ग्राहकको विश्वास जित्दै वल्र्डलिंकले ३५ प्रतिशत बजार हिस्सामा उपस्थिति जनाउन सफल भएको छ ।
नेपालको इन्टरनेट सेवा प्रदायक बजारमा वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले आफ्नो बर्चस्वलाई थप बलियो बनाउँदै ऐतिहासिक सफलता हासिल गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार वल्र्डलिंक ११ लाखभन्दा बढी घरधुरीमा आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्राधिकरणको जेठ महिनासम्मको तथ्यांकलाई आधार भने फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटतर्फ वल्र्डलिंक १० लाख ९२ हजार २९ ग्राहक (घरधुरी) सहित सूचीको पहिलो स्थानमा रहेको छ ।
यसले समग्र बजारको झन्डै ३०.५६ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले आफ्नो पछिल्लो सन्देशमार्फत ११ लाख घरधुरीको परिवार भएको भन्दै यो उपलब्धि प्रत्येक नेपाली परिवारको विश्वासको प्रतिफल भएको जनाएको छ ।
प्राधिकरणको विवरण अनुसार दोस्रो र तेस्रो स्थानमा रहेका सेवा प्रदायकहरू वल्र्डलिंकको तुलनामा निकै पछाडि देखिएका छन् । दोस्रो स्थानमा रहेको सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ग्राहक सङ्ख्या ४ लाख २२ हजार ३ सय ४ मात्र छ भने १०.४७ प्रतिशत बजार हिस्सासहित डिश मिडिया नेटवर्क (डिशहोम) तेस्रो स्थानमा रहेको छ ।
१०.४६ प्रतिशत बजार हिस्सासहित भायानेट चौथो र ८.२० प्रतिशत हिस्सासहित क्लासिक टेक पाँचौँ स्थानमा रहेका छन् । कुल ३५ लाख ७३ हजार ९ सय ५५ फिक्स्ड ब्रोडब्यान्ड ग्राहकहरूमध्ये वल्र्डलिंक एक्लैले १० लाख ९१ हजार ७ सय ८० ग्राहकलाई फाइबरमार्फत इन्टरनेट सेवा पुर्याएर प्रविधिमा आफ्नो अब्बलता प्रमाणित गरेको छ ।
कम्पनीले ‘सबैलाई जहाँपनि सधैँ जोड्ने’ भिजनका साथ डिजिटल नेपालको भविष्यलाई अझ सुनौलो बनाउन निरन्तर कार्यरत रहेको प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको भौगोलिक विकटताका बाबजुद दूरदराजका क्षेत्रसम्म गुणस्तरीय इन्टरनेट सेवा पुर्याउन सफल भएको वल्र्डलिंकले यस उपलब्धिमा ग्राहकहरूको निरन्तर साथ र विश्वासलाई मुख्य श्रेय दिएको छ ।
इन्टरनेट सेवा प्रदायकहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच वल्र्डलिंकले आफ्नो ग्राहक सङ्ख्यालाई १० लाखबाट ११ लाखको हाराहारीमा पुर्याउनुलाई दूरसञ्चार क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गाका रूपमा हेरिएको छ ।
प्राधिकरणको तथ्यांकले नेपालमा पछिल्लो समय एडीएसएल र वायरलेस प्रविधि भन्दा फाइबर इन्टरनेटको माग तीव्र रूपमा बढिरहेको र यसमा वल्र्डलिंकले नै बजारको नेतृत्व गरिरहेको प्रस्ट पारेको छ ।