काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग ८ बुँदे सहमति भएको छ ।
लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री सुधन गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा ८ बुँदे सहमति भएको गृहमन्त्रीले बताए ।
मृतकका परिवारले राखेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए ।
यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उनले बताए ।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।
