काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गर्दै सम्मानित गरेको छ।
नेपाल-भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पुर्याउन सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्दै द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनामको परराष्ट्र मन्त्रालयले उहाँलाई ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको हो।

कन्सुलर मध्येमा अग्रस्थानमा राखी प्रदान गरिएको उक्त प्रमाण पत्रमा भियतनामका परराष्ट्र मन्त्री हो बिन्ह ट्रुङ (Ho Binh Trung) ले हस्ताक्षर गर्नुभएको छ ।
उहाँलाई प्रदान गरिएको सम्मानपत्रमा नेपाल-भियतनामबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्न, आपसी सहयोग विस्तार गर्न तथा भियतनामको वैदेशिक सेवाको प्रवर्द्धनमा श्रेष्ठले पुर्याएको योगदान उल्लेखनीय रहेको उल्लेख गरिएको छ।

भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठले भियतनामको कूटनीतिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँको योगदानको उच्च प्रशंसा गरेको छ।
अवैतनिक महावाणिज्यदूत श्रेष्ठले यस सम्मानका लागि भियतनाम सरकार, परराष्ट्र मन्त्रालय, नयाँ दिल्ली स्थित भियतनाम दूतावास तथा सम्पूर्ण सम्बद्ध निकायप्रति हार्दिक आभार व्यक्त गर्दै नेपाल-भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा अवैतनिक महावाणिज्यदूत श्रेष्ठले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसले बौद्ध पर्यटन, व्यापार, लगानी र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ ।
उहाँले नेपाल बुद्धको जन्मस्थल तथा भियतनाम समृद्ध बौद्ध सम्पदा र ठूलो बौद्ध समुदाय भएको मुलुक भएकाले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउन प्रत्यक्ष हवाई सम्पर्क अत्यन्त आवश्यक रहेको बताउनुभयो।
उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटनको प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै सिधा उडान सञ्चालन भएमा धार्मिक पर्यटनसँगै सांस्कृतिक आदान-प्रदान, शैक्षिक सहकार्य र व्यावसायिक साझेदारी उल्लेखनीय रूपमा विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
श्रेष्ठले नेपाल र भियतनामबीच सूचना प्रविधि, पर्यटन, सेवा, शिक्षा, उत्पादन, कृषि, खाद्य प्रशोधन, पूर्वाधार, नवीकरणीय ऊर्जा, खानी तथा खनिज र लगानीका क्षेत्रमा व्यापक सहकार्यको सम्भावना रहेको औल्याउँनु भयो ।
यी क्षेत्रहरूमा संयुक्त लगानी र साझेदारीबाट दुवै मुलुकले पारस्परिक लाभ लिन सक्ने उहाँको भनाइ थियो।