काठमाडौं । स्पेनको स्वायत्त सहर सिउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा ५७ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ ।
समाचार संस्था एपीका अनुसार बिहीबार बिहान करिब तीन हजार आप्रवासी एकैपटक मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्दा दुर्घटना भएको हो ।
सीमामा तैनाथ सुरक्षाकर्मी र सुरक्षा बारबीचको साँघुरो बाटोमा ठूलो भीड भएपछि मानिसहरू एकअर्कामाथि खसेका थिए । भीडमा च्यापिएर, सास फेर्न नसकेर तथा समुद्रमा डुबेर उनीहरूको मृत्यु भएको बताइएको छ ।
घटनामा स्पेन र मोरक्कोका एक सयभन्दा बढी सुरक्षाकर्मी पनि घाइते भएका छन् । स्पेनी सरकारले पछिल्लो २४ घण्टामा मात्रै मोरक्कोबाट करिब ६० हजार व्यक्ति पौडी खेलेर वा पैदल हिँडेर सिउटा प्रवेश गरेको जनाएको छ ।
यो संख्या सिउटाको कुल जनसंख्याको करिब ७० प्रतिशत बराबर हो । सिउटा भौगोलिक रूपमा अफ्रिकी महादेशमा भए पनि यो स्पेन र युरोपेली सङ्घको हिस्सा हो ।
त्यसैले सिउटामा प्रवेश गर्नेबित्तिकै व्यक्ति युरोपेली सीमाभित्र पुगेको मानिन्छ । सिउटा र मोरक्कोबीच करिब आठ किलोमिटर लामो सुरक्षा बार रहेको छ ।
केही आप्रवासी बार चढेर वा काटेर प्रवेश गर्ने प्रयास गर्छन् भने धेरैले समुद्री मार्ग रोज्ने गरेका छन् । समुद्री क्षेत्रको पूर्ण निगरानी गर्न कठिन हुने भएकाले यो मार्ग बढी प्रयोग हुने गरेको छ । अफ्रिका र एसियाका धेरै मुलुकमा गरिबी, बेरोजगारी, युद्ध र भोकमरीका कारण मानिसहरू राम्रो जीवनको खोजीमा युरोप पुग्न चाहन्छन् ।
लामो समुद्री यात्रा गर्नुको सट्टा मोरक्को हुँदै सिउटा पुग्ने बाटो तुलनात्मक रूपमा छोटो र सहज मानिन्छ । सिउटामा प्रवेश गरेपछि उनीहरूमाथि स्पेन र युरोपेली सङ्घका कानुन लागू हुन्छन् ।
अन्तर्राष्ट्रिय नियमअनुसार उनीहरूलाई कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता पठाउन मिल्दैन । उनीहरूलाई अस्थायी शिविरमा राखेर शरणका लागि आवेदन दिने अवसर दिइन्छ ।
सन् २०२४ को नोभेम्बरमा एक अल्जेरियाली आप्रवासीलाई समुद्रमै पक्राउ गरी कुनै कानुनी प्रक्रिया पूरा नगरी मोरक्कोलाई बुझाइएको घटनाविरुद्ध अदालतमा मुद्दा परेको थियो । यसै मुद्दामा स्पेनको सर्वोच्च अदालतले २०२६ जुलाई ८ मा फैसला गर्दै समुद्री मार्गबाट स्पेनको सीमाभित्र प्रवेश गरिसकेका व्यक्तिलाई सुनुवाइबिनै तत्काल फिर्ता पठाउन नमिल्ने निर्णय गरेको थियो ।
अदालतले सीमाको सुरक्षा बार नाघेर प्रवेश गर्न खोज्ने व्यक्तिको हकमा भने तत्काल फिर्ता पठाउन सकिने उल्लेख गरेको छ । यस निर्णयपछि समुद्री मार्ग प्रयोग गर्ने आप्रवासीको संख्या उल्लेख्य रूपमा बढेको बताइएको छ ।
मानव तस्करहरूले पनि यही कानुनी व्यवस्थालाई आधार बनाएर समुद्री मार्गबाट प्रवेश गर्न प्रेरित गरेको जनाइएको छ । घटनापछि स्पेन सरकारले सिउटाको सीमामा सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।
अतिरिक्त सैनिक परिचालन गर्नुका साथै हवाई र समुद्री निगरानी बढाइएको छ । समुद्री मार्गबाट आउने आप्रवासीमाथि निगरानी गर्न गोताखोर टोलीसमेत परिचालन गरिएको छ ।
युरोपेली सङ्घले पनि स्पेनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । केही विश्लेषकका अनुसार मोरक्कोले यो अवस्थालाई स्पेनमाथि राजनीतिक दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेको हुन सक्ने विश्लेषण गरेका छन् । मोरक्कोले लामो समयदेखि सिउटा र मेलिला आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने स्पेनले ती दुवै सहर आफ्नो अभिन्न हिस्सा भएको बताउँदै आएको छ ।
मोरक्कोले सन् १९५६ मा स्पेनबाट स्वतन्त्रता पाए पनि सिउटा र मेलिला स्पेनकै नियन्त्रणमा रहे । स्पेनले सिउटामाथि आफ्नो नियन्त्रण करिब ३५० वर्षदेखि रहेको र त्यसबेला आधुनिक मोरक्को राज्य नै अस्तित्वमा नरहेको तर्क गर्दै आएको छ ।