काठमाडाैं । सामान वा सेवा खरिद गर्दा बिल (बीजक) लिने बानी बसाल्न नेपाल सरकारले ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ लाई चुस्त र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले ताकेता गरेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै देशभरका सबै भुक्तानी सेवाप्रदायक (पिएसपी) संस्थाहरूलाई आन्तरिक राजस्व विभागको विद्युतीय प्रणालीसँग आफ्नो सिस्टम जोड्न (अन्तरआबद्धता कायम गर्न) र आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो।
सरकारको यस आकर्षक योजनामा नेपालभित्र आफ्नै प्रयोजनका लागि एकपटकमा कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने अन्तिम उपभोक्ताहरू स्वतः सहभागी हुन पाउनेछन्।
उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले बनाइएको यो प्रणालीमा स्वचालित प्रविधि (Automated System) मार्फत प्रत्येक दिन एकजना विजेता र प्रत्येक १५ दिनमा एकजना बम्पर विजेता छनोट गरिने व्यवस्था गरिएको छ।
डिजिटल भुक्तानी र पारदर्शी कारोबारलाई बढावा दिन ल्याइएको यो कार्यक्रमले सर्वसाधारणमा सामान किन्दा अनिवार्य रूपमा बिल माग्ने बानीको विकास हुने र राजस्व सङ्कलनमा समेत मद्दत पुग्ने विश्वास राष्ट्र बैंक र आन्तरिक राजस्व विभागको छ।