काठमाडौं । नेपाल आयल निगमले ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘१४.२ के.जि.को ग्याँस सिलिण्डरको बिक्री वितरणको सुरुवातपश्चात बजारमा ग्याँस अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्याँस उद्योगीहरुले बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन हुन अनुरोध छ । ’
आयल निगमले बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रुपमा ग्याँसको बिक्री बितरण गर्न पनि भनेको छ ।
आयल निगमले ग्याँस नपाएको अवस्थामा हटलाइन नं.०१–५९७१९०२ (कार्यालय समय भित्र) मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।