काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जकरबर्गले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने डर आवश्यक नभएको बताएका छन्।
उनका अनुसार एआईले मानिसको जागिर मात्र प्रतिस्थापन गरिरहेको छैन, बरु नयाँ प्रकारका रोजगारी पनि सिर्जना गरिरहेको छ।
वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा जकरबर्गले एआईसँग सम्बन्धित पूर्वाधार निर्माणका कारण ठूलो संख्यामा रोजगारी सिर्जना भइरहेको दाबी गरे। उनका अनुसार विशाल डेटा सेन्टर, ऊर्जा प्रणाली, नेटवर्क र कम्प्युटिङ पूर्वाधार निर्माणका लागि हजारौं जनशक्ति आवश्यक पर्ने भएकाले एआईले समग्र रोजगारी बढाउन सहयोग गरिरहेको छ।
तर, जकरबर्गको यो अभिव्यक्तिले भने आलोचना पनि खेपिरहेको छ। किनभने यही वर्ष मेटाले आफ्नो एआई–केन्द्रित पुनःसंरचनाअन्तर्गत करिब ८ हजार कर्मचारीलाई जागिरबाट हटाएको थियो, जुन कम्पनीको कुल कार्यबलको करिब १० प्रतिशत हो। त्यस्तै थप ७ हजार कर्मचारीलाई अन्य विभागबाट एआईसम्बन्धी परियोजनामा स्थानान्तरण गरिएको थियो।
यसबीच मेटाले सन् २०२६ मा एआई पूर्वाधार विस्तारका लागि १३० अर्बदेखि १४५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने योजना सार्वजनिक गरेको छ। यो रकम अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो।
जकरबर्गका अनुसार मेटाले हाल विश्वभर ३२ वटा डेटा सेन्टर सञ्चालन वा निर्माण गरिरहेको छ। कम्पनीले यस वर्ष आफ्नो कम्प्युटिङ क्षमता ७ गिगावाट पुर्याउने र २०२७ सम्म त्यसलाई बढाएर १४ गिगावाट बनाउने लक्ष्य राखेको छ। यस्ता परियोजनाका लागि निर्माणकर्मी, इलेक्ट्रिसियन, कुलिङ इन्जिनियर तथा ऊर्जा पूर्वाधारसँग सम्बन्धित प्राविधिकहरूको ठूलो आवश्यकता पर्ने उनले बताए।
यता, प्रविधि क्षेत्रमा एआईमा लगानी तीव्र रूपमा बढिरहेको छ। सन् २०२६ मा ठूला प्रविधि कम्पनीहरूको संयुक्त एआई लगानी ७०० अर्ब डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ। अल्फाबेटले २०५ अर्ब डलर र माइक्रोसफ्टले करिब १७५ अर्ब डलर लगानी गर्ने तयारी गरिरहेका छन्।
तर मेटाभित्रको अवस्था भने फरक देखिएको छ। कर्मचारी कटौतीपछि कम्पनीभित्र असन्तुष्टि बढेको थियो। एआई प्रणालीलाई तालिम दिन कर्मचारीहरूको कम्प्युटर गतिविधि रेकर्ड गर्ने नीतिको विरोधमा एक हजारभन्दा बढी कर्मचारीले हस्ताक्षरसमेत गरेका थिए।
उता, लगानीकर्ताहरू पनि मेटाको ठूलो एआई लगानीबाट आउने प्रतिफलको प्रतीक्षामा छन्। कम्पनीको दोस्रो त्रैमासिकमा आम्दानी २८ प्रतिशतले बढेर ६०.८ अर्ब डलर पुगे पनि फ्री क्यास फ्लो ९१ प्रतिशतले घटेर ७८ करोड ४० लाख डलरमा सीमित भएको छ। त्यसपछि कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले घटेको थियो।
जकरबर्गले भने कम्पनीले निर्माण गरिरहेको विशाल कम्प्युटिङ क्षमता भविष्यमा आफैं एउटा व्यवसाय बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले मेटालाई आफ्नो कम्प्युटिङ क्षमता भाडामा लिन विभिन्न कम्पनीबाट प्रस्ताव आएको र एन्थ्रोपिकसँग पनि छलफल भइरहेको जानकारी दिए। यद्यपि तत्काल नाफाका लागि ती स्रोत बिक्री गर्नु उचित नहुने उनको भनाइ छ, किनकि भविष्यका एआई मोडल र एआई एजेन्ट विकासका लागि यही पूर्वाधार आवश्यक पर्ने उनले बताए।
विश्लेषकहरूका अनुसार जकरबर्गको दाबी आंशिक रूपमा सही भए पनि एआईले सिर्जना गर्ने नयाँ रोजगारी र हराउने पुराना रोजगारीबीच ठूलो अन्तर देखिन थालेको छ। एआईले निर्माण, ऊर्जा र पूर्वाधार क्षेत्रमा अवसर बढाइरहेको भए पनि त्यसको मूल्य अहिले धेरै प्रविधि कम्पनीका कर्मचारीहरूले जागिर गुमाएर चुकाइरहेका छन्।