काठमाडौं । काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन्। महासंघका २५ समिति मध्ये ११ समितिले पूर्णता पाएका हुन्।
पछिल्लो पटक महासंघका केन्द्रीय सदस्यहरू हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वको मेला समिति तथा संघर्ष विष्टको सभापतित्वको पर्यटन तथा हवाई यातायात समिति विस्तारसँगै महासंघअन्तर्गतका थप तीन समितिले पूर्णता पाएका हुन् ।
महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा महासंघका विभिन्न विषयगत समितिका उपसभापति, सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले महासंघका विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताहरू पहिचान गर्ने महत्त्वपूर्ण संयन्त्र भएको बताए।
उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहन अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न आग्रह गरे।
‘महासंघका विषयगत समितिहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार हो,’ कार्यवाहक अध्यक्ष वैद्यले भने,‘समितिहरूले निजी क्षेत्रका समस्या समाधानसँगै नयाँ सम्भावनाको खोजी, नीति निर्माणमा सहजीकरण र लगानी तथा व्यवसाय विस्तारका लागि वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।’
उनले समितिहरूलाई परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै निजी क्षेत्रका साझा सवालमा महासंघको संस्थागत धारणा निर्माणमा समितिहरूको योगदान महत्त्वपूर्ण हुने बताए।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताएका छन्।
सो अवसरमा बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने बताए। उनले वित्तीय संस्थाहरूसँगको समन्वय बढाएर व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।
व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीहरूलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित समितिले काम गर्ने बताए। उनले मेलामार्फत स्वदेशी उत्पादनको प्रवर्द्धन, बजार विस्तार र व्यवसायीहरूबीचको सहकार्यलाई प्राथमिकता दिने धारणा राखेका छन्।
पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, गुणस्तरीय पर्यटक आकर्षण र निजी क्षेत्रको लगानी सुरक्षाका लागि समितिले निरन्तर पहल गर्ने बताए।