काठमाडौं । नेपाल लिकर्स प्रालिका सीईओ अभनिश वीर सिंह तुलाधर सिंगापुरमा सम्पन्न एसिया बिजनेस लिडर्स अवार्डस्बाट सम्मानित भएका छन् ।
उनलाई ‘सीईओ अफ दि इयर’ अवार्डबाट सम्मान गरिएको हो । कम्पनीले यो सफलता नेपाल लिकर्सका लागिमात्रै नभइ समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि भएको जनाएको छ ।
जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर गर्छ । प्रत्येक वर्ष एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीहरुलाई उनीहरुको नेतृत्व, रणनीतिक नवप्रवर्तन र सम्बन्धित उद्योगहरुमा पुर्याएको रुपान्तरणकारी योगदानको कदर गर्दै सम्मान गर्दै आएको छ ।
जेनजी पुस्ताकै नेतृत्वकर्ता तुलाधरले युनिभर्सिटी अफ रिचमन्ड र इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन् । उनले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यवहारिक अनुभवलाई संयोजन गर्दै दुरदर्शी दृष्टिकोण भित्र्याएको कम्पनीले जनाएको छ ।
सम्मानपछि तुलाधरले भनेका छन्–यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु । यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो ।