काठमाडौं । नेपाली उपभोक्तामा घरायसी विद्युतीय सामग्री खरिद गर्दा मूल्यभन्दा गुणस्तर, ऊर्जा दक्षता, वारेन्टी र बिक्रीपछिको सेवालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ ।
केही वर्षअघिसम्म टेलिभिजन, रेफ्रिजेरेटर वा वासिङ मेसिन खरिद गर्दा सस्तो उत्पादन रोज्ने प्रवृत्ति बढी देखिन्थ्यो । पछिल्लो समय भने उपभोक्ताले आफ्नो आवश्यकता, परिवारको आकार, विद्युत् खपत, उत्पादनको क्षमता, वारेन्टी र आधिकारिक सेवा केन्द्रको उपलब्धतालाई आधार बनाएर खरिद निर्णय गर्न थालेका छन् ।
सीजी डिजिटलका अनुसार यही बदलिँदो उपभोक्ता सोचलाई ध्यानमा राख्दै देशभर सञ्चालनमा रहेका २८ वटा सीजी डिजिटल तथा एलजी ब्रान्ड सपमार्फत ग्राहकलाई एउटै स्थानमा विभिन्न ब्रान्डका उत्पादन हेर्ने, तुलना गर्ने तथा आवश्यकताअनुसार परामर्श लिने सुविधा उपलब्ध गराइएको छ ।
सीजी डिजिटल नेटवर्कमा टेलिभिजन, अडियो प्रणाली, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, एयर कुलर, फ्यान, माइक्रोवेभ ओभन, भान्साका विद्युतीय उपकरण, पानी शुद्धीकरण गर्ने उपकरण, भ्याकुम क्लिनर, साना घरायसी विद्युतीय सामग्री, मोबाइल तथा स्मार्ट उपकरण उपलब्ध छन् । त्यहाँ एलजी, सीजी, टीसीएल, गोदरेज, मिडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, सीजी मेरिडिया, ब्ल्याक एन्ड डेकर, गुडम्यान्स, बर्ली, नथिङ, मोटोरोला र एआई प्लसलगायत ब्रान्डका उत्पादन बिक्री हुँदै आएका छन् ।
कम्पनीका अनुसार एउटै स्थानमा विभिन्न ब्रान्ड उपलब्ध हुँदा ग्राहकले मूल्य, डिजाइन, क्षमता, ऊर्जा दक्षता, प्रविधि र वारेन्टीको तुलना गरी आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त उत्पादन छनोट गर्न सक्ने सुविधा पाउँछन् ।
सीजी डिजिटलले प्रस्तुत गरेको एक उदाहरणअनुसार काठमाडौंमा नयाँ घरमा सरेको चार सदस्यीय परिवारले सुरुमा सामाजिक सञ्जाल र अनलाइनमार्फत विभिन्न उत्पादनको मूल्य तथा छुटको तुलना गरेको थियो । तर शोरुममा पुगेपछि परिवारको आवश्यकता, दैनिक प्रयोग, उपलब्ध स्थान तथा भविष्यको आवश्यकतालाई आधार बनाएर रेफ्रिजेरेटर र वासिङ मेसिन छनोट गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त परिवारले सबैभन्दा सस्तो उत्पादनभन्दा दीर्घकालीन प्रयोग, कम सञ्चालन खर्च र उपयुक्त सुविधालाई प्राथमिकता दिएको थियो ।
कम्पनीले बिक्रीपछिको सेवा सुदृढ बनाउन उत्पादन दर्ता, सेवा अनुरोध, सेवा केन्द्रको जानकारी तथा मर्मतको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरेको जनाएको छ । लागू सर्तअनुसार वारेन्टी अवधिभित्र आधिकारिक सेवा केन्द्रमार्फत मर्मत सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।