काठमाडौं । बाढीजन्य विपदका कारण घाइते भएर काठमाडौंका अस्पतालहरुमा उपचार गराइरहेका घाइते व्यक्ति तथा परिवार र सम्पत्ति गुमाएका व्यक्तिहरुको पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अधिकारीहरुलाई निर्देशन दिएकी छिन् ।
रसुवा भोटेकोशी बाढीबाट प्रभावित घाइते र आफन्त वेपत्ता भएका परिवारका सदस्यहरुको अवस्था र विरामीका आफन्तहरुको आवश्यकता बुझ्न शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर पीडामा रहेका व्यक्तिहरुसँग कुराकानी गरिसकेपछि यस्तो निर्देशन दिइन् । उनी स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी., महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीसहित अस्पताल पुगेकी थिइन् ।
‘अहिले राष्ट्रिय संकट परेको छ । यसबेला संकटमा परेका व्यक्तिहरुको जीवन बचाउने, घाइतेको उद्धार, राहतको काम भइरहेको छ । परिवार र आफन्त गुमाएका व्यक्तिहरुका लागि हामी सहारा प्रदान गर्छौँ ।’ परिवार सबै वेपत्ता भएकी, आफू पनि घाइते अवस्थामा रहेकी बालिकासँग कुरा गरिसकेपछि अधिकारीहरुलाई निर्देशन दिँदै उनले भनिन् ‘विपदले सबै गुमाएका व्यक्तिका लागि पुनःस्थापनाको काम तत्काल अगाडि बढाउनू ।’
अस्पताल पुगेका बेला उनले रेड जोनमा भएका विरामी, आइसीयुमा उपचाररत विरामीको अवस्था निरीक्षण गर्दै उपचार विधि, सामान, साधन तथा उपकरणको उपलब्धता लगायत विषयमा जानकारी लिइन् । त्यस क्रममा उनलाई उपनिर्देशक डा. पवनराज चालिसे, उपनिर्देशक डा. गोपाल सेढाईँ र गुनासो अधिकारी विपिन उपाध्यायले अवस्थाका बारेमा जानकारी दिएका थिए ।
अस्पतालले नियमित सेवालाई सुचारु राखेर विपदजन्य घटना व्यवस्थापन गरिरहेको अस्पतालका उपनिर्देशक डा. चालिसेले जानकारी दिए । अनपेक्षित मात्राको आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त औषधि हुँदैन । यसकारण महानगरपालिकाले औषधि सहयोग गर्नुपर्ने अवस्था छ । उनको भनाइ थियो ।
