काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२९४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२९४ जनाको शव फेला परेको हो । जसमा रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६७, चितवनमा ३५९, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको छ । अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ५ हजार ५३ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका २१३०, नुवाकोटका २३४० र विदेशी नागरिक ५८३ रहेको विवरणमा उल्लेख छ ।
२- जनता समाजवादी पार्टी, नेपालले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र स्वास्थ्य उपचारमा प्रभावकारी भूमिका खेल्न सरकारसँग माग गरेको छ । पार्टीको भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपछिको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै, पार्टीले नेपालको वर्तमान राजनीतिक अवस्था र आफ्नो रणनीतिक दिशासम्बन्धी राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गरेको भन्दै केही निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई स्पष्टीकरणसहित अनुशासनसम्बन्धी कारबाही गर्ने निर्णय गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको पक्षमा पार्टी निर्णयविपरीत मतदान गरी सरकारमा सहभागी भएका प्रदेशसभा सदस्यहरूमाथि पनि कारबाही गर्ने जनाइएको छ । बैठकले विभिन्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई पनि अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ । जसपा नेपालले लुम्बिनी प्रदेशमा पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा सहभागी भएका रुपन्देही–३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी प्रदेशसभा सदस्य हेमा बेल्वासे, बाँके–२(१) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिर र बाँके–२(२) का प्रदेशसभा सदस्य आदेशकुमार अग्रवालमाथि कारबाही गर्ने निर्णय गरिएको छ ।

उनीहरूलाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय भएको छ । त्यसैगरी, सिरहा जिल्लाको लहान उपमहानगरपालिकाका उपप्रमुख राम चलितर महतो, सुखीपुर गाउँपालिका–४ का रमेशकुमार यादव, धनगढीमाई नगरपालिका–७ का विजयकुमार महतो, कर्जन्हा नगरपालिका–६ का प्रकाशमान श्रेष्ठ, कर्जन्हा–८ का शम्भुकुमार व्याह, कर्जन्हा–९ का वडाध्यक्ष मो. मुस्तकिम, कर्जन्हा–११ का किस्मत राई, धिरम नगरपालिका–८ का कार्यपालिका सदस्य वीरेन्द्रकुमार दनाल, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का वडाध्यक्ष बालकृष्ण राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राईमाथि पनि कारबाही गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, इलामको माम्सेबुङ गाउँपालिकाका उपप्रमुख विनोद नेम्बाङ, सन्दकपुर गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र गुरुङ तथा सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडीलाल कटुवाललाई समेत पार्टी विधानबमोजिम अनुशासनसम्बन्धी कारबाही गरी पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको छ । यसैगरी, अग्रगामी मोर्चाको गठनलाई पार्टीले स्वागत तथा समर्थन गर्दै मोर्चाले घोषणा गर्ने कार्यक्रमलाई सफल बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा सहभागी गराउने निर्णयसमेत गरिएको छ । त्यस्तै पार्टी संगठन सुदृढीकरणका लागि पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङमा भदौ २१ गतेदेखि जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको छ।
३- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानभन्दा माथिल्लो भागबाट नयाँ सडकको बाटो खोल्ने काम सुरु गरिएको छ । हालसम्म दुवैतर्फ गरी करिब ५० मिटर प्रारम्भिक बाटो खनिएको छ । उक्त बाटोबाट अहिले उत्खनन गर्ने मेसिन आवतजावत गर्न मिल्ने गरी काम भइरहेको र तोकिएको योजनाअनुसार सावधानीपूर्वक बाटो खोल्ने काम अघि बढाइएको छ ।
सडक विभागका अनुसार करिब ३७० मिटर नयाँ बाटो खोल्नुपर्नेछ। पहिरो गएको स्थानको अवस्थाअनुसार २७ मिटरसम्म माथिल्लो भागबाट नयाँ बाटो खोल्न लागिएको हो । नयाँ सडक करिब ७ मिटर चौडाइको बनाउने गरी काम भइरहेको छ । बाटो खोल्न बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो । सडक विभागले यातायात सञ्चालन सहज बनाउन नयाँ बाटो खोल्ने कामलाई तीव्रता दिइएको जनाएको छ ।
४- भारत र जापानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक एकअर्काविरुद्ध खेल्ने भएका छन् । दुवै टोलीबीच सेप्टेम्बर २२ मा जापानको तोचिगी प्रान्तस्थित सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० अन्तर्राष्ट्रिय खेल हुने भएको हो । जापान क्रिकेट संघ र भारतीय क्रिकेट नियन्त्रण बोर्डले खेलको पुष्टि गरेका हुन् । दुवै टोली सन् २०२६ को एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा समेत सहभागी हुँदैछन् । एसियाली खेलकुदमा जापानले समूह चरणबाट प्रतिस्पर्धा गर्नेछ भने भारत सिधै क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछ । यसै वर्ष टी-२० विश्वकप जितेको भारतले एसियाली खेलकुदअघि यो खेललाई तयारीका रूपमा लिनेछ । चार वर्षअघि एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको भारत यसपटक पनि उपाधिको दाबेदारका रूपमा रहेको छ ।
जापानले भने विश्वका उत्कृष्ट खेलाडी सम्मिलित भारतीय टोलीविरुद्ध खेल्दै महत्वपूर्ण अनुभव हासिल गर्ने अपेक्षा गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित सैकियाले भारत र जापानबीचको पहिलो अन्तर्राष्ट्रिय खेल क्रिकेट विस्तारका दृष्टिले महत्वपूर्ण अवसर भएको बताएका छन् । जापान क्रिकेट संघका प्रमुख कार्यकारी अधिकृत नाओकी मियाजीले विश्व च्याम्पियन भारतलाई जापानमा आमन्त्रण गर्न पाउनु आफ्नो संघका लागि ऐतिहासिक क्षण भएको बताएका छन् । भारत र जापानबीचको यो खेलले एसियामा क्रिकेटको विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । एसियाली खेलकुदमा क्रिकेटको सहभागिताले आगामी ओलम्पिकमा पनि क्रिकेटको पुनरागमनको बाटो खोल्ने विश्वास गरिएको छ ।
५- राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए ।
६- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका २० वटा झोलुङ्गे पुलको मर्मतको प्रक्रिया शुरु गरिएको छ । भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो । प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालिएको छ । यी पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो । जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ । यी ५ वटा झोलुङ्गे पुलहरू १ महिनाभित्र मर्मत सम्पन्न गरिनेछ । त्यसैगरी, पुनः निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ ।
७- दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार बस्ती नजिकै ठूलो पहिरो जाँदा चौलानी नदी आंशिक रूपमा थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको छ। नदी थुनिएर बनेको जलाशय फुटेमा बैतडी–दार्चुला सीमाबाट बग्ने चमेलिया (चौलानी) नदीमा एक्कासि पानीको सतह बढ्न सक्ने जनाएको छ । नदीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै चौलानी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । प्रशासनले वर्षाको समयमा नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।
८- चीनले नेपाल-चीन सीमा क्षेत्रको केरुङ-रसुवा नाका नजिकै ठूलो पहिरो गएपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी नियमित उपलब्ध गराउँदै आएको जनाएको छ । चीनको मौसम प्रशासनका प्रवक्ताले विपद्पछि तत्कालै नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरिएको जानकारी दिएका छन् । नेपालमा जारी उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन चीनले मौसमसम्बन्धी आवश्यक सूचना र प्राविधिक सहयोग सक्रिय रूपमा उपलब्ध गराइरहेको जनाएको छ ।
चीनको जलस्रोत मन्त्रालयले पनि नेपालसँग आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने जनाउदै यसअन्तर्गत नदीमा बनेका अवरोध तथा हिमताल फुट्न सक्ने जोखिमसम्बन्धी सूचनासमेत नेपाललाई उपलब्ध गराइने बताएको छ । यसबाट बाढी, पहिरो तथा अन्य जलजन्य विपद्को जोखिमबारे समयमै जानकारी प्राप्त गरी नेपालमा जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
९- दक्षिण कोरियाले होर्मुजमा जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न सैन्य उपायसहित विभिन्न विकल्पबारे समीक्षा गरिरहेको जनाएको छ । तर, अहिलेसम्म कुनै निर्णय नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमले बिहीबार सरकारले यस वर्षको अन्त्यअघि सैन्य सामग्री पठाउने तयारी गरेको र यसै महिना संसद्को स्वीकृति लिन सक्ने समाचार प्रकाशित गरेका थिए । राष्ट्रपतिको कार्यालयका एक अधिकारीले जलडमरूमध्यमा जहाज आवागमन सहज बनाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर व्यावहारिक सहयोग गर्ने विषयमा छलफल भइरहेको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
दक्षिण कोरियाले सैन्य उपाय पनि विचाराधीन विकल्पको रुपमा विश्लेषण गरिएको बताइएको छ । तर सैन्य परिचालनबारे अहिलेसम्म कुनै निर्णय भएको भने छैन । यस्तो निर्णयका लागि घरेलु कानुनी प्रक्रिया, कोरियाली प्रायद्वीपमा सैन्य तयारीको अवस्था र संसद्को स्वीकृतिसमेत विचार गर्नुपर्ने भनिएको छ । होर्मुज जलडमरूमध्यसँग सम्बन्धित सहयोगमा दक्षिण कोरियाले कुनै भूमिका नखेलेको भन्ने दाबी पनि गलत भएको दक्षिण कोरियाको जवाफ रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण कोरियाले लामो समयदेखि अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोगका विषयमा छलफल गर्दै आएको समेत बताइएको छ ।
१०- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन् ।
उपसचिव (प्रा.) श्री दामोदर वाग्ले सदस्य–सचिव पनि रहेका छन्।मन्त्रालयका अनुसार समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिइएको छ ।
समितिले बाढीपीडित परिवारको पहिचानदेखि पुनःस्थापनाका लागि आवश्यक जग्गाको छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर स्पष्ट सुझाव तथा सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ । समितिले सम्बन्धित स्थानीय तहको समन्वयमा बाढीपीडित परिवारको वास्तविक विवरण संकलन तथा पहिचान गर्नेछ ।
पुनःस्थापनाका लागि आवश्यक पर्ने जग्गा सम्बन्धित स्थानीय तह, जिल्लास्थित भूमि प्रशासन कार्यालय र नापी कार्यालयको सहयोगमा पहिचान गरिनेछ । पहिचान भएका जग्गाको स्थलगत अध्ययन गरी सम्बन्धित विषयविज्ञको सहयोगमा प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ । समितिले जग्गाको भौगोलिक अवस्था, बाढी तथा पहिरोको जोखिम, बसोबासका लागि उपयुक्तता र आवश्यक पूर्वाधारलगायतका विषयको अध्ययन पनि गर्नेछ ।
११- गृहमन्त्री सुदन गुरुङले आफू कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयमा चिन्ता गर्नुभन्दा विपद् व्यवस्थापनमा प्राप्त परिणामलाई हेर्न आग्रह गरेका छन् । गुरुङले मन्त्रालयको कुर्सीमा बसेर कागजात समातेर मात्र नेतृत्व गर्नुपर्ने पुरानो सोच अब परिवर्तन हुनुपर्ने बताएदै विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड केन्द्र पूर्ण रूपमा सञ्चालनमा रहेको भन्दै उनले चिन्ता नगर्न आग्रह गरेका छन् । उनका अनुसार डिजिटल माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठक भइरहेको छ ।
यसबाट विपद्को वास्तविक अवस्थाबारे जानकारी लिएर उद्धार तथा राहतका कामलाई छिटो र प्रभावकारी रूपमा अघि बढाइएको उनले बताएका छन् । गुरुङले विगतमा स्थलगत वास्तविकता नबुझी कार्यालयमा बसेर मात्र नेतृत्व गर्दा त्यसको परिणाम भोग्नुपरेको उल्लेख गर्दै पुरानै प्रणाली अपनाएर फरक र उत्कृष्ट परिणाम खोज्न दबाब दिनु आश्चर्यजनक भएको उनको भनाइ छ । उनले कार्यालयको टेबल पछाडि बसेर काम गर्नुभन्दा डिजिटल माध्यमबाट समन्वय र निर्णय प्रक्रिया छिटो तथा प्रभावकारी भइरहेको दाबी गरेका छन् ।
१२- माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य जारी रहेको छ । दुई जनाको जीवितै उद्धार पछि एक जनाको शव फेला परेको उद्धारकर्मीहरूले जनाएका छन् । शवको पहिचान हुन भने बाँकी रहेको छ । आयोजनाको सुरुङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा नेपाल विद्युत प्राधिकरणसमेतको उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कवीर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।
माथिल्लो त्रिशूली थ्री–ए परियोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत् गृहमा नै रहेको अनुमान छ । उद्धारस्थलमा सुरुङको मुख्यद्वारमा पहाड खसेर थिनिएको भएपनि सुरुङ भित्र भने त्यस्तो असहज अवस्था नरहेको उद्धारस्थलबाट नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालले जानकारी दिएका छन् ।
१३- साउथ अस्ट्रेलियाले नेपाल ए लाई १३८ रनले पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा साउथ अस्ट्रेलियाए दिएको २०६० रनको लक्ष्य पछाएको नेपाल ए ले २२.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो । यसअघि एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको नेपाल ए ले २६० रनको लक्ष्य पाएको थियो ।
टस जितेर पहिला ब्याटिंग गरेको साउथ अस्टेलियाले ५० ओभरमा ९ विकेट गुमाउदै २५९ रन बनाएको थियो । एकदिवसीय सिरिजमा नेपाल ए को यो लगातार दोस्रो हार हो । पहिलो खेलमा तासमानियासँग पराजित भएको थियो । अब नेपाल ए ले सेप्टेम्बर ६ आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने तालिका रहेको छ ।
१४- कृष्णभीरमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको छ । नेपाल एलपी ग्यास उद्योग संघको निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ । यसअघि नेपाल आयल निगमले तोकेको मूल्य २ हजार ६० रुपैयाँ थियो । भदौ १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्गको सडक कटान गरेपछि काठमाडौँ उपत्यकामा ग्यास ल्याउन कठिनाइ भएको संघले जनाएको छ ।
त्यसपछि मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगमा ग्यासका सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउनुपर्ने अवस्था आएको हो । वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी दूरी र लागत बढेकाले प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा अतिरिक्त ढुवानी खर्च थपिएको र त्यसमा लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको संघले जनाएको छ । संघले काठमाडौँ उपत्यकामा ग्यास बिक्री गर्ने उद्योगलाई प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी मूल्य नलिन आग्रह गरेको छ । हाल काठमाडौँ बाहिरका ग्यास उद्योगमा नै ग्यास सिलिन्डर भएर काठमाडौँ ढुवानी गर्दा सो बापतको खर्च भने उपभोक्ताबाट असुल गर्ने निर्णय गरिएको छ भने सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिइएको छैन ।
काठमाडौँ उपत्यकामा गत असारदेखि नै ग्यासको अभाव कायमै रहेका बेला फेरी मुल्य बढाएर उपभोक्तालाई दोहोरो मारमा पारेको भन्दै आपत्ति जनाइएको छ । राष्ट्रिय उपभोक्ता मन्चले ग्यासमा बढाइएको मुल्य तत्काल खारेज गर्न माग गरेको छ । मन्चले विपदको मौका छोपेर उपभोक्तालाई थप भार पारिएको भन्दै तत्काल मुल्य फिर्ता लिन माग गरेको हो ।
१५- प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार भएको वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँगको संवाद महत्वपूर्ण रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अस्ट्रेलिया सरकार र नागरिकले देखाएको ऐक्यबद्धताप्रति उनले आभार व्यक्त गरेका थिए । प्रधानमन्त्री शाहले विपद्का बेला अस्ट्रेलियाले उद्धार तथा राहतमा गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञ ड्रोन सञ्चालकको टोली, अत्यावश्यक राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।
उनले बाढीका कारण नेपालमा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को समयमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर समन्वय र सहकार्य गरिने बताए । वार्ताका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
१६- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन जाने भएका छन् । प्रधानमन्त्री शाहले राष्ट्र संघको महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको हो । प्रधानमन्त्री शाह यसअघि नजाने निर्णय गरेको भएपनि भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको विषय विश्वमन्चमा नेपालले जोडदार रुपमा उठाउनुपर्ने आवाज चौतर्फी रुपमा उठेपछि उनले जाने सोच बनाएका हुन् ।
परराष्ट्र स्रोतका अनुसार अहिलेसम्म प्रधानमन्त्री जाने निर्णय भने भएको छैन । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सानो टिम बनाएर केहि दिनका लागि मात्र जाने गरि तयारी शुरु गरिएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ देखि असोज ६ गते (सेप्टेम्बर ८ देखि २२) सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ ।
१७- अमेरिकी एआई चीप निर्माता कम्पनी एनभिडियाले भोटेकोशी बाढीपछि राहत तथा पुन: निर्माणका एक करोड अमेरिकी डलर सहयोग प्रदान गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन ह्वाङलाई करिब डेढ अर्ब नेपाली रुपैयाँबराबरको सहयोगका लागि धन्यवाद दिएका छन् । अर्थमन्त्री वाग्लेका अनुसार यो सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
१८- भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्यांकनबाट उक्त क्षति देखिएको हो ।
उनले आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए । यसअन्तर्गत भवन तथा बस्ती पुनःस्थापना, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि, पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्र समेटिएका छन् । खोज तथा उद्धार कार्य अझै जारी रहेको भन्दै उनले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोजी, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए।
बाढीका कारण सुरुङमा फसेकाहरूको उद्धारका लागि पनि अभियान जारी रहेको उनले बताएका छन् । प्राधिकरणका अनुसार काठमाडौंसहित विभिन्न २१ स्थान र थपिएका शिविरमा खाद्य तथा राहत सामग्री पठाउने काम भइरहेको छ । भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको गुनासो सम्बोधन गर्न थप प्रयास भइरहेको जनाइएको छ । प्रारम्भिक क्षतिको विवरणलाई थप विस्तृत क्षति मूल्यांकन तथा विपद्पछिको आवश्यकता मूल्यांकनमार्फत स्पष्ट पारिने प्राधिकरणले जनाएको छ ।
१९- प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि नेपालले विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गरिरहेको सहयोगबारे जानकारी दिएका छन् । प्रधानमन्त्री शाहका अनुसार बाढी आएको दिनदेखि नै विभिन्न देशले नेपाललाई राहत, उद्धार सामग्री, आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले नेपालको दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बाका रूपमा उभिएको बताएका छन् ।
छिमेकी भारतले पाँच चरणमा हालसम्म ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ भने प्रभावित क्षेत्रमा उद्धारका लागि विज्ञ टोलीसमेत परिचालन गरेको छ । चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ। नेपालले प्रभावित क्षेत्रमा प्रयोग गर्न चीनसँग ३० वटा बेलीब्रिज उपलब्ध गराउन अनुरोध गरेको छ । पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ भने श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।
अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले विशेषज्ञ तथा ड्रोन सञ्चालन गर्ने टोलीसमेत नेपाल पठाउने भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ ।
त्यसैगरी, बेलायतले ५० लाख पाउण्ड, युरोपेली संघले २० लाख युरो, स्विट्जरल्यान्डले १० लाख अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २० लाख अमेरिकी डलर, आयरल्यान्डले ५ लाख युरो, चेक गणतन्त्रले २५ लाख चेक कोरुना र नर्वेले १ करोड २७ लाख नर्वेजियन क्रोन सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै, फ्रान्सले प्रभावित क्षेत्रका २०० परिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ भने लक्जेम्बर्ग र लाटभियाले पनि राहत सामग्री प्रदान गरेका छन् ।
प्रधानमन्त्री शाहले अझै कतिपय देशले सहयोगको प्रस्ताव गरिरहेको भन्दै नेपालको आवश्यकता पहिचान गरेर सहयोगका लागि प्रस्ताव अघि बढाइरहेको बताए । यसैगरी, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण, एसियाली विकास बैंकबाट बजेट सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहयोगका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उनले जानकारी दिएका छन् ।
२०- आर्सनलका ब्राजिलियन फरवार्ड गाब्रिएल मार्टिनेली साउदी प्रो लिग क्लब अल हिलालमा १२ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको स्थानान्तरण शुल्कमा आबद्ध भएका छन् । योसँगै ब्राजिलका २५ वर्षीय खेलाडीको उत्तरी लन्डनमा रहेको सात वर्ष लामो बसाइ समाप्त भएको छ । उनले अल हिलालसँग लामो अवधिको सम्झौता गरेका छन् । मार्टिनेली सन् २०१९ मा ब्राजिलको इटुआनोबाट आर्सनल पुगेका थिए ।
आर्सनलसँग उनको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि प्रशिक्षक मिकेल आर्टेटाले यस सिजनको योजनामा आफूलाई नराखेको स्पष्ट पारेपछि उनले क्लब छाडेका हुन् । अल हिलालमा आबद्ध भएपछि मार्टिनेलीले क्लबको सामाजिक सञ्जालमार्फत आफू अल हिलालको खेलाडी बनेकोमा गर्व लागेको बताएका छन् । अल हिलालमा उनले इङ्ल्यान्डका फरवार्ड ओली वाट्किन्ससँगै खेल्नेछन् । वाट्किन्स पनि एस्टन भिल्लाबाट अल हिलाल पुगेका थिए । त्यस्तै, वेस्ट ह्यामबाट नेदरल्यान्ड्सका विंगर क्रिसेन्सियो समरभिल पनि यसै सिजन अल हिलाल पुगेका छन्। क्लबको प्रशिक्षण सिमोने इन्जाघीले सम्हालिरहेका छन् ।
मार्टिनेलीले आर्सनलमा प्रतिहप्ता पाउँदै आएको भनिएको प्रतिसाता १ लाख ८० हजार पाउन्ड अर्थात् करिब ३ करोड ६८ लाख रुपैयाँभन्दा अल हिलालले उल्लेख्य रूपमा बढी पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनले आर्सनलमा पाउने भन्दा डबल पारिश्रमिक पाउने छन् । गत सिजन उनले सबै प्रतियोगितामा आर्सनलबाट ५३ खेल खेल्दै ११ गोल गरेका थिए । तर यस सिजनका सुरुआती दुई खेलका लागि घोषित टोलीमा उनलाई समावेश गरिएको थिएन । प्रशिक्षक आर्टेटाले क्लबमै रहे पनि उनलाई पर्याप्त खेल समय पाउन कठिन हुने संकेत गरेका थिए ।