ललितपुर । जेन-जी आन्दोलनका प्रथम सहिद विनोद महर्जन सहित अन्य सहिदहरूको शालिक अनावरण गरिएको छ। आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको स्मृतिमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुदन गुरुङले शालिक अनावरण गरेका हुन् ।
ललितपुर महानगरपालिका वडा नं। ७ निवासी ३४ वर्षीय विनोद महर्जन चित्रकला र हस्तकला क्षेत्रमा आबद्ध थिए। आन्दोलनको पहिलो दिन (२०८२ भदौ २३ गते) काठमाडौँको नयाँबानेश्वर चोकमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागि उनको निधन भएको थियो, जसका कारण उनलाई जेन(जी आन्दोलनको प्रथम सहिद मानिन्छ। महर्जनको शालिक निर्माणका लागि ललितपुर क्षेत्र नम्बर २ सांसद जेन जी सरकारका मन्त्री जगदिश खरेलले मुख्य पहल गरेका थिए।
शालिक अनावरण कार्यक्रममा बोल्दै सांसद खरेलले महर्जनको शालिकले विभिन्न भाव अभिव्यक्त गरिरहेको आफूले अनुभूति गरेको बताए। ‘कहिले मुस्कुराइरहेको जस्तो, कहिले अलिअलि हाँसिरहेको जस्तो, कतै चिन्ता व्यक्त गरिरहेको जस्तो र कतै सन्तोषको सास फेरिरहेको जस्तो देखिन्छ,’ भाअुक हुँदै उनले भने, ‘करिब–करिब मोनालिसाको तस्वीरजस्तै।’ खरेलले शालिकमार्फत महर्जनले आफूहरूलाई अहिले पनि हेरिरहेको अनुभूति हुने बताए।
‘माथि रहेका हाम्रा विनोद भाइले पनि हामीलाई हेरिरहेका छन्, हामी के गरिरहेका छौँ भनेर,’ उनले भने, ‘पाटनवासी, ललितपुरवासी र यो देशका सम्पूर्ण जनताले विनोदलगायत जेन–जी आन्दोलनका क्रममा सहिद भएकाहरूलाई अमर बनाउने कार्यमा प्रतिबद्ध रहनेछन्।’ उनले सहिदहरूले देखेको सपना पूरा गर्न निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
खरेलले महर्जनकी आमा लता मायासँगको भेटलाई पनि स्मरण गरे। जेन–जी आन्दोलनपछि आफू अन्तरिम सरकारमा जिम्मेवारी लिएर गएलगत्तै महर्जनकी आमालाई भेटेको र त्यतिबेला उनको छोराको शालिक निर्माण गरी अमर बनाउने प्रतिबद्धता जनाएको उनले बताए । ‘हामीले धेरै मेहनत गर्यौँ र अन्ततः आज सालिक निर्माण गरेर उहाँसामु उभिएका छौँ,’ उनले भने। जेन–जी आन्दोलनको सन्दर्भमा त्यसबेला अन्तरिम सरकारसँग हामीले १० बुँदे सम्झौता गरेका थियौँ। जेनजी अभियन्ताहरूसँग भएको त्यो सम्झौता राजपत्रमा समेत प्रकाशित भएको छ। त्यसबेला कतिपयले यसलाई “कागजको चिर्कटो हो, च्यातेर फालिन्छ” भनेर टिप्पणी गरेका थिए’ खरेलले भने, ‘तर अन्तरिम सरकारको समयमा हामीले ती विषयलाई गम्भीरतापूर्वक लिएर जेनजीका हक–अधिकार सुनिश्चित गर्ने दिशामा धेरै काम अघि बढाएका छौँ। विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरू तथा घाइतेहरूको विषयमा हामीले महत्वपूर्ण कामहरू अघि सारेका छौँ। अब म माननीय गृहमन्त्री सुदन गुरुङज्यूलाई अनुरोध गर्न चाहन्छु, जुन सहमति भएको छ, त्यसको मर्म तपाईंले बुझ्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले पनि त्यसको मर्म बुझ्नुभएको छ।’

शालिक निर्माणका लागि पिन्छे टोलका स्थानीय बासिन्दाले गरेको सहयोगप्रति पनि खरेलले आभार व्यक्त गरे।महर्जनको शालिक कलाकार रवि शाक्यले तयार गरेका हुन्। कार्यक्रममा गृहमन्त्री सुदन गुरुङप्रति पनि खरेलले धन्यवाद व्यक्त गरे।
उनले पछिल्लो समय आएको बाढीपहिरोमा खोज, उद्धार तथा राहतका लागि सरकारले गरेको कामको प्रशंसा गर्दै गृहमन्त्री गुरुङको नेतृत्वमा करिब १ हजार ३ सय नेपाली तथा विदेशी नागरिकको उद्धार गर्न सफल भएको दाबी गरे। उनले विपद्का बेला खोज, उद्धार र राहतमा खटिएका नेपाल सरकारका विभिन्न निकाय, सुरक्षा निकाय तथा सुरक्षाकर्मीप्रति पनि आभार व्यक्त गरे ।
बाक्लो दाह्रीजुँगा पालेका, लामो कपाल भएका निडर स्वभावका विनोद सानैदेखि अन्याय सहन नसक्ने खालका थिए। छलछाम गर्न नजान्ने र कसैको आलोचना गर्नुपरे लुकीछिपी होइन सिधै गर्ने उनको हक्की स्वभाव थियो।