काठमाडौं । हरेक वर्ष सेप्टेम्बर ९ मा आक्रमणबाट शिक्षाको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० मा कतारको प्रस्तावमा प्रस्ताव नम्बर ७४/२७५ पारित गर्दै यो दिवस घोषणा गरेको थियो ।
द्वन्द्वग्रस्त क्षेत्रमा विद्यालय तथा विश्वविद्यालयमा बमबारी, गोलाबारी हुने वा सैन्य प्रयोजनका लागि प्रयोग हुँदा लाखौँ बालबालिकाको शिक्षाको अधिकार प्रभावित हुँदै आएको छ । उनीहरूलाई सुरक्षित रूपमा अध्ययन गर्ने वातावरण उपलब्ध गराउनु र युद्ध तथा संकटका कारण परेको मानसिक असरबाट जोगाउनु दिवसको मुख्य उद्देश्य हो ।
सन् २०२६ को दिवसको नारा ‘के शिक्षाले आक्रमण थेग्न सक्छ? मानव समुदायको दृढता’ रहेको छ। यस वर्ष सुरक्षित सिकाइस्थलको संरक्षण तथा संकटबाट प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापनामा विशेष जोड दिइएको छ ।
युनेस्को र युनिसेफको सहकार्यमा मनाइने यस दिवसले विद्यालय तथा सिकाइस्थलमाथि हुने आक्रमण रोक्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र सुरक्षित विद्यालयसम्बन्धी घोषणामार्फत शिक्षाको निरन्तरता तथा दोषीमाथि जवाफदेहिता सुनिश्चित गर्न आह्वान गर्दै आएको छ । विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा विद्यालय र सिकाइस्थलमाथि हजारौँ आक्रमण भइरहेकाले लाखौँ बालबालिका सुरक्षित शिक्षाबाट वञ्चित हुँदै आएका छन् ।