काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रबलजङ्ग पाण्डेले विपद्का समयमा सरकारले देखाएको तदारुकताको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिएका छन्।
पाण्डेले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विपद्का समयमा सरकारका सुरक्षा निकाय सहित सरकारी संयन्त्र प्रभावकारी रूपमा परिचालन भएको बताएका हुन्।
उनले उद्धार तथा राहत वितरण, उद्धारपछि घाइतेको उपचार, मृतकको शव व्यवस्थापन, बेली ब्रिज निर्माण तथा सडक सञ्चालनका लागि सरकारले गरेको प्रयास सकारात्मक रहेको उल्लेख गरेका छन्।
“सर्वप्रथम, सरकारले विपद्मा देखाएको तदारुकता सराहनीय छ,” पाण्डेले लेखेका छन्, “सरकारको सुरक्षा निकाय लगायत सरकारी संयन्त्र सही रूपमा परिचालित हुँदा उद्धार, राहत वितरण, उद्धारपछि उपचार र मृतकको शव व्यवस्थापनलगायतका काम प्रभावकारी रूपमा अघि बढेको छ।”
रसुवातर्फको सडक चाँडै सञ्चालन गर्ने प्रतिबद्धता, नुवाकोटदेखि गल्छीसम्मको सडक खुलाउन गरिएको पहल तथा कृष्णभीरमा १० दिनमै नयाँ ट्र्याक सञ्चालन गर्न लागिएको विषयलाई पनि उनले सरकारको सक्रियताको उदाहरणका रूपमा उल्लेख गरेका छन्।

पृथ्वी राजमार्ग बन्द हुँदा वैकल्पिक राजमार्ग एकतर्फी रूपमा सञ्चालन गरेर बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिएको भन्दै उनले सरकारको आपूर्ति व्यवस्थापनको पनि प्रशंसा गरेका छन्।

“लाइफलाइन पृथ्वी राजमार्ग बन्द हुँदा विकल्पका रूपमा रहेका राजमार्ग एकतर्फी सञ्चालन गरेर बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिई सप्लाई चेन म्यानेजमेन्ट गरेको लगायतका विषयले सरकारको नियत र दक्षता प्रस्तुत गरेको छ,” उनले भनेका छन्।
पाण्डेले जलवायु परिवर्तनको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भइरहेको विषयलाई पनि सकारात्मक रूपमा उल्लेख गरेका छन्। यसैगरी, अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको शेयर बजार सुधारसम्बन्धी २१ बुँदे कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाउने उनको धारणा छ।
लामो समयदेखि लगानीकर्ताले माग गर्दै आएका विषयलाई सम्बोधन गर्ने गरी कार्ययोजना आएको भन्दै उनले यसले आन्तरिक पुँजी परिचालनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
“अर्थ मन्त्रालयले हालै शेयर बजार सुधारका लागि जारी गरेको २१ बुँदे कार्ययोजनाले लामो समयदेखि लगानीकर्ताले माग गरेको शेयर बजार सुधार हुनेमा लगानीकर्ताको मनोबल वृद्धि हुनुका साथै आन्तरिक पुँजी परिचालनमा कोसेढुंगा साबित हुने देखिन्छ,” पाण्डेले फेसबुकमा लेखेका छन्।
व्यवसायीले माग गरेका कानुन संशोधनको प्रक्रिया पनि सरकारले अघि बढाइरहेको उनले बताएका छन्। ती कानुन संशोधन भइसकेपछि नेपालमा थप लगानीको वातावरण निर्माण हुने उनको विश्वास छ।
पाण्डेले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। “सरकारले निजी क्षेत्रसँग सहकार्यमा देशको अर्थतन्त्र सबल बनाऔँ,” उनले भनेका छन्।