काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित भएका विभिन्न जिल्लामा विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ ।
प्राधिकरणका अनुसार प्युठानमा अर्घाखाँचीबाट आपूर्ति हुने ३३ केभी प्रसारण लाइन साँझ ७ बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको छ। उक्त लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित जिल्लाका धेरै स्थानमा विद्युत् सेवा पुनः सञ्चालन हुनेछ ।
लमही–झिम्रुक १३२ केभी लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुडिएको तार जोड्ने काम भइरहेको छ। उक्त क्षेत्रमा वर्षा भइरहेकाले काम गर्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । सो लाइन आज राति १० बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको छ ।
१३२ केभी लाइन सञ्चालनमा आएपछि प्युठानमा पूर्णरूपमा विद्युत् सेवा सञ्चालन हुनेछ भने रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी क्षेत्रमा समेत विद्युत् आपूर्ति सुरु हुनेछ ।
रोल्पाको पश्चिमी क्षेत्रमा पर्ने होलेरीमा विद्युत् सेवा पुनःस्थापनाका लागि बिहानैदेखि टोली परिचालन गरिएको छ। एक स्थानमा पाँच स्प्यान तार पोलसहित ढलेको तथा अन्य चार स्थानमा रुखले पोलसहित तार चुडाएको पाइएको प्राधिकरणले जनाएको छ । ती स्थानमा मर्मतको काम भइरहेको र भोलिसम्ममा विद्युत् सेवा सञ्चालन गर्ने तयारी छ ।

रोल्पाको थवाङतर्फ जाने विद्युत् लाइनमा भने ठूलो क्षति पुगेको छ। सडक अवरुद्ध रहेकाले प्राविधिक तथा कर्मचारी घटनास्थलमा पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, रुकुम पूर्वमा सल्यान हुँदै गएको विद्युत् लाइन सल्यान वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा अवरुद्ध भएको छ । पहिरोसँगै पोलहरू बगेको बुझिएको र उक्त क्षेत्रमा भोलिसम्ममा विद्युत् सेवा पुनःस्थापना गर्ने तयारी भइरहेको छ ।

हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।