काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने ह्रासको जोखिमलाई सम्बोधन गर्ने गरी सूचकांकमा आधारित धान बीमालेख जारी गरेको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख’ जारी गरेको हो। बीमालेख २०८३ असोज ७ गतेदेखि मंसिर ७ गतेसम्म लागू हुनेछ।
यस बीमालेखमा कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तुका धान उत्पादक किसानलाई समेटिएको कम्पनीले जनाएको छ। बीमालेख जारी गर्न कम्पनीले प्लान्टस्याट बाइ सिड इनोभेसन्स प्रालिसँग साझेदारी गरेको छ।
कम्पनीका अनुसार प्रति कट्ठा १ हजार ५९५ रुपैयाँ बीमाङ्क रकम कायम गरिएको छ। बीमालेख जारी भएको पहिलो दिनमै करिब १ हजार ३०५ जना किसानको बीमा गरिएको छ भने करिब ३ हजार ३०४ कट्ठा क्षेत्रफलमा लगाइएको धान बीमाको दायरामा आएको छ।
वर्षाको सूचकांकका आधारमा क्षतिपूर्ति

यस बीमालेखअन्तर्गत किसानको खेतमा भएको व्यक्तिगत क्षतिको मूल्याङ्कन गरेर नभई तोकिएको तीन दिनको अधिकतम सञ्चित वर्षाको मात्राका आधारमा क्षतिपूर्ति प्रदान गरिनेछ। कम्पनीले तोकेको सूचकांकअनुसार क्षतिपूर्ति भुक्तानीका लागि योग्य अवस्था सिर्जना भएमा किसानले छुट्टै दाबी फाराम, कागजात वा दाबीसम्बन्धी विवरण बुझाउनुपर्ने छैन।

सूचकांकका आधारमा भुक्तानी गर्न योग्य ठहरिएको रकम किसानको बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसबाट दाबी प्रक्रियामा आवश्यक कागजी प्रक्रिया र लाग्ने अतिरिक्त समय कम हुने कम्पनीको भनाइ छ।

कम्पनीले सूचकांकमा आधारित यस बीमालेखमार्फत अत्यधिक वर्षाका कारण धान उत्पादनमा कमी आई किसानले व्यहोर्न सक्ने आर्थिक जोखिमलाई सरल, पारदर्शी र प्रविधिमा आधारित प्रक्रियाबाट व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।