काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रका सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा वायरलेस इन्टरनेट सेवा पुर्याउने तयारी गरेको छ ।
मङ्गलबार आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले इन्टरनेट सेवाका लागि आवश्यक उपकरणको मन्त्रालयमा परीक्षण भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार अमेरिकाको ‘आईसीटी फोर डी’ (क्ष्ऋत्४म्) नामक संस्थाबाट प्राप्त ती उपकरणहरू बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा विस्तारका लागि प्रयोग गरिनेछन् ।
आईसीटी फोर डीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा ती उकरणहरू पठाएको उनले बताए । मन्त्री पुनका अनुसार हाल मन्त्रालयमा सबै उपकरणको परीक्षण भइरहेको र परीक्षणपछि आवश्यक स्थानमा लगेर जडान गरिने उनले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा वायरलेस प्रविधिबाट इन्टरनेट विस्तार गर्ने योजना रहेको पुनले बताए । बाढी प्रभावित जिल्लामा वायरलेस प्रविधिबाट गाउँ–गाउँसम्म इन्टरनेट पुर्याउने उद्देश्य रहेको उनको भनाइ छ ।

पहिलो चरणमा बेत्रावतीभन्दा माथिका विभिन्न गाउँमा इन्टरनेट पुर्याउने योजना बनाइएको छ । मन्त्री पुनका अनुसार वडा नम्बर ५ को बोगटीटार, वडा नम्बर ४ को लहारेपौवा, ठुलोगाउँ, डाँडागाउँ र पञ्चलिङ्गेसहित तिरु, हाकु र पाङलिङका विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयमा वायरलेस प्रविधिबाट इन्टरनेट जडान गरिनेछ ।

यी स्थानमा पहिलो चरणको काम सम्पन्न गरेपछि त्यसभन्दा माथिका क्षेत्रमा पनि इन्टरनेट विस्तारका लागि थप योजना बनाइने मन्त्री पुनले बताएका छन् ।