काठमाडौं । इरानको मुद्रा रियाल हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलर खरिद गर्न २५ लाख रियालसम्म तिर्नुपर्ने अवस्था आएको छ ।
युद्ध सुरु हुनुअघि गत फेब्रुअरी २७ मा एक डलरबराबर करिब १७ लाख रियाल पाइन्थ्यो । त्यसयता सात महिनामै रियालको मूल्य करिब ५० प्रतिशतले घटेको छ ।
इरानको केन्द्रीय बैंकले तोकेको आधिकारिक विनिमय दर भने एक डलरबराबर करिब १६ लाख ५० हजार रियाल छ । तर सर्वसाधारणले डलर खरिद गर्दा बजारमा कायम दर नै लागू हुने गरेको छ ।
रियाल कमजोर हुनुमा युद्ध, अमेरिकी प्रतिबन्ध तथा इरानी तेलमाथि लगाइएको अमेरिकी नाकाबन्दी प्रमुख कारण रहेको बताइएको छ । यसबाट इरानको आम्दानी तथा डलरको उपलब्धतामा असर परेपछि रियाल निरन्तर कमजोर हुँदै गएको छ ।

रियालको मूल्य घटेसँगै खाद्यान्न तथा दैनिक उपभोगका अन्य आवश्यक वस्तुको मूल्य तीव्र रूपमा बढेको छ । रिपोर्टका अनुसार जुलाईमा इरानको वार्षिक मुद्रास्फीति दर ६६ प्रतिशत पुगेको थियो । त्यही अवधिमा खाद्यान्नको मूल्य एक वर्षमा १२८ प्रतिशतले बढेको थियो ।

अल जजिराका अनुसार युद्धअघि २० लाख रियालमा करिब चार किलो गोलभेँडा, आधा किलो कुखुराको मासु र करिब एक लिटर खाना पकाउने तेल खरिद गर्न सकिन्थ्यो । अगस्टमा त्यही रकममा यी वस्तुको करिब आधा परिमाण मात्र खरिद गर्न सकिने अवस्था आएको थियो । यस अवधिमा गोलभेँडाको मूल्य ७१ प्रतिशत, कुखुराको मासुको मूल्य ७४ प्रतिशत र खाना पकाउने तेलको मूल्य १७७ प्रतिशतले बढेको बताइएको छ ।

इरानमा करिब ८०० प्रकारका औषधिको अभाव रहेको बताइएको छ । तीमध्ये ९० वटा अत्यावश्यक तथा जीवनरक्षक औषधि छन्। इन्सुलिनको मूल्य एक वर्षमा करिब छ गुणासम्म बढेको छ भने प्यारासिटामोलको मूल्य ९३ प्रतिशतले बढेको बताइएको छ ।
युद्धको असर रोजगारी क्षेत्रमा पनि परेको छ। रोयटर्सका अनुसार वसन्त ऋतुमा इरानको बेरोजगारी दर ९.१ प्रतिशत थियो । एक वर्षको अवधिमा काम गर्ने जनशक्तिको संख्या करिब चार लाख ५० हजारले घटेको थियो । युद्धका कारण निर्माण, उद्योग तथा अन्य व्यवसायमा समेत काम प्रभावित भएको बताइएको छ ।
इरानको अर्थतन्त्र लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको दबाबमा रहँदै आएको छ । युद्ध सुरु भएपछि थप प्रतिबन्ध र इरानी तेलमाथि लगाइएको अमेरिकी नाकाबन्दीले आर्थिक संकट थप गहिरिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सोमबार राति इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै अहिले सम्पूर्ण ध्यान होर्मुज जलडमरूमध्यमा केन्द्रित रहेको बताएका छन्। यो जलमार्ग पछिल्लो युद्धको महत्वपूर्ण केन्द्र बनेको छ । इरानले होर्मुज जलडमरूमध्यका विषयमा वार्ता अझ गम्भीर बनेको बताएको छ। दुवै पक्षबीच मध्यस्थकर्तामार्फत युद्ध अन्त्य गर्ने र होर्मुज जलमार्ग पुनः खोल्ने विषयमा सहमतिको प्रयास भइरहेको छ । अमेरिकी अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरे पनि वार्ताको प्रयास जारी रहेको बताएका छन् ।
ट्रम्पले शनिबार इरानसँग युद्ध अन्त्य गर्ने र होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव अस्वीकार गरेका थिए । उनले इरान कठिन अवस्थामा रहेकाले तत्काल होर्मुज खोल्न चाहेको बताएका थिए । इरानले विदेशमन्त्री अब्बास अराघचीमार्फत कतारको माध्यमबाट अमेरिकालाई सात दिनको कार्ययोजना पठाएको थियो । त्यसमा युद्ध रोक्ने र निश्चित शर्त पूरा भएपछि होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव गरिएको थियो ।
इरानले आफ्नो तेल बिक्रीमाथि लगाइएको प्रतिबन्धमा राहत दिन पनि माग गरेको थियो । त्यसैगरी आफ्ना बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन तथा विदेशमा रोक्का गरिएको करिब १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्न माग गरेको थियो । इरानी राष्ट्रपति मसुद पजशकियानले अब संघर्ष अन्त्य गर्ने वा नगर्ने निर्णय अमेरिकाको हातमा रहेको बताएका छन् ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा अमेरिकी सैन्य आधार रहेका खाडी मुलुकमा आक्रमण गरेको थियो ।
अमेरिकाले आफ्नो सैन्य कारबाहीको उद्देश्य इरानको आणविक क्षमता कमजोर पार्नु रहेको बताउँदै आएको छ । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि रहेको र आणविक प्रविधिको प्रयोग गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।