काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गहरू क्षतिग्रस्त भएपछि दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउन अझै केही समय लाग्ने भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सडकको अवस्था सुरक्षित नभएसम्म अग्रिम टिकट बुकिङ खुलाउन नसकिने बताएका छन्। उनले टिकट बिक्रीभन्दा पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु व्यवसायीहरूको मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।
अध्यक्ष सिटौलाका अनुसार गत वर्ष चौतर्फी दबाबका कारण अग्रिम टिकट बुकिङ खुलाइए पनि सडक बिग्रिएका कारण यात्रुहरू तीन दिनसम्म बाटोमै अलपत्र पर्नुपर्ने अवस्था आएको थियो। यस वर्ष त्यस्तो परिस्थिति दोहोरिन नदिन महासंघ सतर्क रहेको उनले बताए।
‘पोहोर साल चौतर्फी दबाब आएपछि टिकट खोलियो, तर बाटो बिग्रिँदा यात्रुहरू तीन दिनसम्म बाटामै बस्नुपर्ने बाध्यता भयो। यो वर्ष त्यस्तो परिस्थिति नआओस् भनेर हामी सतर्क छौँ,’ उनले भने।
यस वर्ष विगतमा जस्तो एकैपटक १० देखि १५ दिनअघिको अग्रिम टिकट बुकिङ खुलाउने सम्भावना नरहेको पनि सिटौलाले जानकारी दिए। सडकको अवस्था मूल्याङ्कन गर्दै दुई वा तीन दिनका लागि मात्र अग्रिम टिकट उपलब्ध गराउँदै जाने विकल्पमा महासंघभित्र तथा सरकारसँग छलफल भइरहेको उनले बताए।

यातायात व्यवस्था विभागसँग हुने आगामी बैठकपछि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने विषयमा अन्तिम निर्णय गरिने उनको भनाइ छ।

बाढीपहिरोका कारण सडकहरू क्षतिग्रस्त हुनुका साथै पहिरोको जोखिमसमेत कायमै रहेकाले यसपटकको दसैँमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न अध्यक्ष सिटौलाले यात्रुहरूलाई आग्रह गरेका छन्।

‘यसपटक प्राकृतिक प्रकोपको अवस्था डरलाग्दो छ। बाटोमा कुन बेला के हुन्छ भन्ने टुङ्गो छैन। त्यसैले अत्यावश्यक काम नभएका यात्रुहरूलाई जोखिम मोलेर यात्रा नगर्न र जहाँ हुनुहुन्छ, त्यहीँ दसैँ मनाउन मेरो सुझाव छ,’ उनले भने।
सडकको अवस्था र मौसमको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित यात्रालाई प्राथमिकता दिएर मात्रै अग्रिम टिकट बुकिङ खुलाउने तयारीमा यातायात व्यवसायीहरू रहेका छन्।