काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटका नियममा महत्वपूर्ण परिवर्तन गर्दै नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।
नयाँ नियमअनुसार ब्याटिङ गर्ने क्रममा समय खेर फालेमा तेस्रो र त्यसपछिको प्रत्येक गल्तीमा विपक्षी टोलीलाई ५ रन जरिवाना दिइनेछ । आईसीसीले बिहीबार सार्वजनिक गरेका नयाँ नियम सन् २०२६ अक्टोबर १ वा त्यसपछि सुरु हुने अन्तर्राष्ट्रिय शृंखलामा लागू हुनेछन् । यसअघि नै सुरु भइसकेका शृंखलामा भने पुरानै नियम लागू हुनेछन् ।
नयाँ व्यवस्थामा पुरुष, महिला र जुनियर क्रिकेटमा प्रयोग हुने बलको आकार तथा तौलमा समेत फरक सीमा तोकिएको छ । साथै गुलाबी बलबाट दिनको समयमा टेस्ट खेलाउने परीक्षण, अन्तिम ओभरको नियम, रनआउट तथा स्टम्पिङको व्याख्या र टी–२० को विश्राम समयलगायतमा पनि परिवर्तन गरिएको छ ।
१. टेस्टमा गुलाबी बलको परीक्षण

दिनको समयमा हुने टेस्टमा खराब प्रकाशका कारण खेल रोकिने समय घटाउन गुलाबी बल प्रयोग गर्ने परीक्षण गर्न सकिनेछ । त्यसका लागि खेल सुरु हुनुअघि दुवै टोलीको सहमति आवश्यक हुनेछ । एकपटक गुलाबी बल प्रयोग गर्ने निर्णय भएपछि पूरै खेलमा त्यही बल प्रयोग गर्नुपर्नेछ । खेल सुरु भइसकेपछि रातो बलबाट गुलाबी बलमा परिवर्तन गर्न पाइने छैन ।

२. पुरुष, महिला र जुनियर क्रिकेटमा फरक आकारको बल

अब पुरुष, महिला र १३ वर्षमुनिका खेलाडीको क्रिकेटमा प्रयोग हुने बलको तौल र आकारका लागि छुट्टाछुट्टै सीमा तोकिएको छ । पुरुष क्रिकेटमा बलको तौल १५५.९ देखि १६३ ग्राम र परिधि २२.४ देखि २२.९ सेन्टिमिटर हुनुपर्नेछ । महिला क्रिकेटमा बलको तौल १४० देखि १५१ ग्राम र परिधि २१ देखि २२.५ सेन्टिमिटर हुनेछ । १३ वर्षमुनिको क्रिकेटमा बलको तौल १३३ देखि १४४ ग्राम र परिधि २०.५ देखि २२ सेन्टिमिटर तोकिएको छ ।
३. सामान्य मिसफिल्डलाई ओभरथ्रो नमानिने
आईसीसीले ओभरथ्रोको परिभाषालाई पनि स्पष्ट पारेको छ । स्टम्पमा बल प्रहार गरी रन रोक्ने वा रनआउट गर्ने प्रयासका क्रममा बल अन्यत्र गएमा त्यसलाई ओभरथ्रो मानिनेछ । तर बल रोक्ने वा अर्को क्षेत्ररक्षकसम्म पुर्याउने प्रयासका क्रममा भएको सामान्य मिसफिल्डलाई ओभरथ्रो मानिने छैन ।
४. बल ‘स्थिर’ भएको समय अम्पायरले निर्धारण गर्न सक्ने
अब बल ‘पूर्ण रूपमा स्थिर’ भएको मान्नका लागि बलर वा विकेटकिपरको हातमै हुनुपर्ने छैन । अम्पायरले बल कहिले पूर्ण रूपमा स्थिर भएको हो भन्ने निर्णय गर्न सक्नेछन् । यो व्यवस्था विशेषगरी खेलको अन्तिम बल वा निकै नजिकको अवस्थामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
५. रनआउट र स्टम्पिङमा बलमाथि पूर्ण नियन्त्रण आवश्यक
रनआउट वा स्टम्पिङ गर्दा क्षेत्ररक्षकको बलमाथि पूर्ण नियन्त्रण हुनुपर्नेछ । केवल बललाई हातले छोएर स्टम्प ढालेको अवस्थामा क्षेत्ररक्षकको बलमाथि नियन्त्रण रहेको मानिने छैन ।
६. अन्तिम ओभरमा विकेट झर्दैमा दिनको खेल अन्त्य नहुने
दिनको अन्तिम ओभरमा विकेट झरेपछि ओभर पूरा नभएको अवस्थामा खेल स्वतः अन्त्य हुने छैन । मौसम र अन्य अवस्था खेलका लागि अनुकूल भए बाँकी बल त्यही दिन खेलाइनेछ । आईसीसीका अनुसार बाँकी बल अर्को दिन खेलाउँदा समय बचत नहुने भएकाले नयाँ व्यवस्थाले खेललाई अझ प्रभावकारी बनाउनेछ। यसबाट क्षेत्ररक्षण गर्ने टोलीलाई पनि फाइदा पुग्नेछ ।
७. टी–२० मा १५ मिनेटको विश्राम
टी–२० अन्तर्राष्ट्रियमा अब १५ मिनेटको निश्चित विश्राम समय हुनेछ । तर खेलका क्रममा समय गुमेको अवस्थामा विश्राम अवधि घटाएर न्यूनतम १० मिनेट कायम गर्न सकिनेछ ।
८. ड्रिङ्क्स ब्रेकमा मुख्य प्रशिक्षक मैदानमा जान पाउने
एकदिवसीय र टी–२० क्रिकेटमा अब मुख्य प्रशिक्षकले ड्रिङ्क्स ब्रेकका क्रममा मैदानमा प्रवेश गरी खेलाडीहरूसँग कुराकानी गर्न पाउनेछन् । महिला क्रिकेटमा यो व्यवस्था यसअघि नै लागू भइसकेको थियो ।
९. लेग साइड वाइडसम्बन्धी नियम स्थायी
एकदिवसीय र टी–२० क्रिकेटमा परीक्षणका रूपमा लागू गरिएको लेग साइड वाइडसम्बन्धी नियमलाई स्थायी बनाइएको छ । ब्याटरले बल फ्याँक्नुअघि वा बल फ्याँक्ने क्रममा आफ्नो स्थान परिवर्तन गरेमा बल वाइड हो वा होइन भन्ने निर्णय गर्दा बल फ्याँकिएको क्षणमा ब्याटरको खुट्टाको अवस्थालाई आधार मानिनेछ । त्यसपछि ब्याटर अफ साइडतर्फ सरे पनि त्यसलाई वाइड निर्धारण गर्ने आधार बनाइने छैन ।
यी नयाँ नियमले खेलको गति, समय व्यवस्थापन, बलको मापदण्ड तथा केही जटिल खेल अवस्थाको निर्णय प्रक्रियालाई थप स्पष्ट बनाउने आईसीसीको उद्देश्य रहेको बताएको छ ।