काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग सवारीसाधन दर्तामा देखिएका समस्याबारे छलफल गरेको छ ।
नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले छलफलमा दसैँ नजिकिँदै गर्दा यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ताको चाप बढ्दा समस्या भएको बताएका थिए ।
सवारी बिक्रेता कम्पनीका प्रतिनिधिले आवश्यक कागजात पेस गरी दर्तासम्बन्धी काम गर्न पनि लामो समय खर्चिनुपरेको गुनसो उनले गरे । उनीहरूले दर्ता प्रक्रिया सरलीकरणसँगै अन्य नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका घटाउन प्रमुख जिल्ला अधिकारी पौडेललाई आग्रह गरेका छन् ।
नाडाका सचिव तथा दुईपांग्रे सवारीसाधन समितिका सभापति मेघराज पौडेलले भदौ ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग भेट गरी समस्या समाधानका लागि छलफल भइसकेको जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले सम्बन्धित यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह, नाडा दुईपांग्रे समितिका सदस्य योगेन गुरुङ र दिपक रौनियारलगायतको सहभागिता थियो ।
