काठमाडौं । जगदम्बा मोटर्सले आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी रेसिङ क्वालिफायर्सको बुटवल चरणबाट तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन्।
१६० सीसी वर्गको प्रतिस्पर्धामा धीरज बि.क. विजेता बने भने अभिषेक पन्थी प्रथम उपविजेता र अरिक श्रेष्ठ द्वितीय उपविजेता भए। आयोजकका अनुसार धीरजले ३४.०७ सेकेन्ड, अभिषेकले ३४.६२ सेकेन्ड र अरिकले ३४.८७ सेकेन्डको समय निकालेका थिए। तीनै जनाले राष्ट्रिय ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्दै काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्नेछन्।
टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो। तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा भएको कार्यक्रममा ७६ जना सहभागी भएपछि दर्ता बन्द गरिएको आयोजकले जनाएको छ।
प्रतिस्पर्धाअघि सहभागीलाई पूर्व एआरई जीपी नेपाल विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय रेसिङ च्याम्पियन नवाङ मोक्तानले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा मोटरसाइकल चलाउँदाको शारीरिक अवस्था, मोड लिने तरिका, ब्रेकिङ, दृष्टि नियन्त्रण तथा ट्र्याकमा सुरक्षित राइडिङका अभ्यास समेटिएका थिए।
बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले सहभागिताले बुटवल क्षेत्रमा मोटरस्पोट्र्सप्रतिको उत्साह देखाएको बताए। पहिलो पटक ट्र्याकमा उत्रिएका राइडरले समेत अनुभवी प्रशिक्षकबाट सिकेर प्रतिस्पर्धामा भाग लिएको उनको भनाइ थियो।

आयोजकका अनुसार राष्ट्रिय ग्रान्ड फिनालेको १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। उनीहरूको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्नेछन्।

कार्यक्रमको अन्त्यमा सहभागीलाई प्रमाणपत्र वितरण तथा विजेतालाई सम्मान गरिएको थियो। जगदम्बा मोटर्सले प्रशिक्षण, क्षेत्रीय छनोट र राष्ट्रिय फिनालेमार्फत नेपाली राइडरलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्याउने उद्देश्य राखेको जनाएको छ।