काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सत्तामा कति वर्ष रहने भन्ने प्रतिस्पर्धा गर्नुभन्दा कुन राजनीतिक दलले जनताका लागि राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै राईले उक्त कुरा बताएका हुन् । राईले नेपाली कांग्रेसको इतिहास लोकतन्त्र स्थापनाका लागि व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणमा योगदान दिएका योद्धाहरूको संघर्षबाट बनेको उल्लेख गर्दै उनले विगतका गल्ती सच्याएर नयाँ पुस्ताले रूपान्तरणसहित देश निर्माणमा अघि बढ्नुपर्ने बताए ।
‘अब कुन पार्टीले कति वर्ष सत्ता चलाउने प्रतिस्पर्धा गर्नुभन्दा पनि हाम्रो पार्टी अध्यक्ष हर्क साम्पाङले भनेजस्तै कुन पार्टीले कति राम्रो काम गर्यो भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने, ‘यो काममा देशका सबै पार्टी तयार हुनुपर्छ ।’
उनले नेपाली कांग्रेस कुनै हल्लाका भरमा स्थापित भएको पार्टी नभई नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका योद्धाहरूको योगदानबाट निर्माण भएको बताए ।
विगतका विभिन्न कालखण्डमा कांग्रेसबाट गल्ती भएको हुन सक्ने भन्दै राईले ती गल्ती सच्याएर नयाँ पुस्ताले रूपान्तरणको बाटोबाट देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

सदनमा राष्ट्रिय दलका रूपमा रहेको कान्छो दलको हैसियतले बोल्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले आगामी दिनमा राष्ट्रिय निर्माणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।

‘आज म प्रतिस्पर्धी राजनीतिक दलका रूपमा उभिएको छैन । आज म नेपालको लोकतान्त्रिक इतिहासको एउटा अध्यायको साक्षी बनेर उभिएको छु,’ उनले भने । उनले नयाँ ऊर्जा र नयाँ नेपाल निर्माणका लागि सबै राजनीतिक दलबीच सहकार्य हुनुपर्ने सन्देशसमेत दिएका छन् ।