काठमाडौं । बाँकेको कोहलपुरस्थित एक पोलिक्लिनिकमा उपचारका लागि पुगेकी महिला बिरामीको संवेदनशील अंग छोएको तथा चलाएको आरोपमा प्रहरीले पोलिक्लिनकका सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्य उपचारका लागि गएकी बिरामीको गोप्य अंग छोएको र चलाएको भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडितबाट प्रहरीमा जाहेरी परेको थियो ।
जाहेरीका आधारमा प्रहरीले पोलिक्लिनिकका सञ्चालकसमेत रहेका कोहलपुर–११ निवासी ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापाले सीएमए प्रमाणपत्र प्राप्त गरेका छन् । उनीविरुद्ध करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँके जिल्ला अदालतबाट अनुसन्धानका लागि थप ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा प्रसारित भएको विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले स्वास्थ्यकर्मीले महिला बिरामीको संवेदनशील अंगको परीक्षण गर्दा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आचारसंहिताअनुसार संरक्षकको उपस्थितिमा परीक्षण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।
आरोपितमाथि अनुसन्धान भइरहेकोले घटनामा लागेको आरोप अदालतबाट अन्तिम रूपमा पुष्टि हुन बाँकी रहेको प्रहरीले छ ।
