काठमाडाैं । उसै पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा केही लेख्ने बित्तिकै त्यसले डिजिटल संसार मात्र होइन, संसद् र राजनीतिक वृत्तमा समेत ठूलै भूकम्प ल्याउने गर्छ। यसपटक पनि ठ्याक्कै त्यस्तै भयो।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह राजधानीको ऐतिहासिक खुला मञ्चमा भव्य रूपमा भयो। विशेष महाधिवेशनबाट शेरबहादुर देउवालाई किनारा लगाउँदै लोकप्रिय युवा नेता गगन थापा पार्टी सभापति बनेपछि यस महाधिवेशनको उद्घाटनलाई विशेष रूपमा हेरिएको थियो। तर, महाधिवेशनको त्यो भव्यता भन्दा पनि आइतबार बेलुका प्रधानमन्त्री बालेन शाहले लेखेको एउटा स्टाटसले सामाजिक सञ्जालमा तहल्का मच्चायो।
उनले अत्यन्तै छोटो तर कूटनीतिक रूपमा घोचपेच गर्दै व्यंग्यात्मक शैलीमा लेखेका थिए, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
राजनीतिक संस्कारभन्दा बिलकुलै भिन्न मानिएको यो १० शब्द र दुई लाइनको स्टाटस आएलगत्तै समाज दुई कित्तामा बाँडिएको छ। एक पक्ष बालेनको समर्थनमा उभिएका छन् भने अर्को पक्ष उनको यो अभिव्यक्ति शैलीप्रति कडा आपत्ति जनाइरहेका छन्। कतिपयले त आक्रोशित हुँदै ‘खुला मञ्च तिमीले बनाएको हो र?’ भन्दै प्रश्नसमेत तेस्र्याएका छन्।
खुला मञ्चबाट कांग्रेस सभापति गगन थापा र अन्य शीर्ष नेताहरूको तीखो प्रहार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न गरेका थिए। उनले संसद्को गरिमा र प्रधानमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाउँदै खुला मञ्चबाटै भनेका थिए, ‘संसद् बन्द रहेको र खुला मञ्च चाहिएको छ। जुन संसद्ले जसलाई प्रधानमन्त्री बनाएको छ, आफूलाई प्रधानमन्त्री बनाउने संसद् र जनताको गरिमाका निम्ति, व्यवस्थाका निम्ति जुन दिनसम्म त्यो ठाउँमा प्रधानमन्त्रीको गरिमामय उपस्थिति हुँदैन, त्यो दिनसम्म संसद् खुला हुँदैन। संसद्लाई पनि खुला मञ्च चाहिएको छ।’

त्यस्तै, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार र प्रधानमन्त्रीका कतिपय गतिविधिले देशलाई स्वेच्छाचारीतातर्फ धकेल्ने जोखिम बढेको चेतावनी दिए भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै देशको राजनीति सही मार्गमा नरहेको तर्क गरेका थिए।

यी शीर्ष नेताहरूले वर्तमान सरकार र प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति चर्को आलोचना र राजनीतिक कटाक्ष गरेपछि, त्यसैको काउन्टरका रूपमा प्रधानमन्त्री बालेनले ‘मैले खुला मञ्च राम्रो बनाइदिएँ र पो तिमीहरूले त्यहाँ उभिएर मलाई गाली गर्न पाख्यौँ’ भन्ने आशयको उक्त स्टाटस सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। उनी काठमाडौं महानगरपालिकाको मेयर भएको बेला खुला मञ्चलाई अतिक्रमणमुक्त गरेर व्यवस्थित र खुला बनाइएको थियो।
यदि त्यो बेला खुला मञ्चलाई संरक्षण र सौन्दर्यीकरण नगरिएको भए कांग्रेसले यति ठूलो राजनीतिक कार्यक्रम गर्न ठाउँ नै पाउने थिएन भन्ने उनको मुख्य आशय थियो। साथै, दशकौंसम्म सत्ताको बागडोर सम्हालेका पुराना राजनीतिक दल नेपाली कांग्रेसलाई उनले व्यंग्यात्मक रूपमा ‘नयाँ पार्टी’ भनेर सम्बोधन गरेका थिए।
‘धन्न वाला ट्रेन्ड’ : सामाजिक सञ्जालमा सुरु भयो व्यंग्यात्मक प्रतिस्पर्धा
प्रधानमन्त्रीको उक्त स्टाटस सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक वृत्तमा पक्ष र विपक्षको बहस त हुने नै भइहाल्यो, यससँगै सामाजिक सञ्जालमा ‘धन्न बालेन ट्रेन्ड’ नै सुरु भयो।
बालेनको शैलीलाई सापटी लिँदै अन्य राजनीतिककर्मी र अभियन्ताहरूले पनि उस्तै ढाँचामा स्टाटस लेख्न थाले :
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले, ‘धन्न श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौँ। संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ ‘म नेपाली हुँ’ भन्न पाएका छौँ।’ लेखेका छन्।
त्यस्तै, जेनजी अभियन्ता रक्षा बमले ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/शहीद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’ लेखेकी छन्।
खुला मञ्चको इतिहास : पञ्चायतकालदेखि बालेनको सफाइ अभियानसम्म
खुला मञ्चलाई राजधानीको मुटुमा रहेको विशाल टुँडिखेल मैदानको एउटा ऐतिहासिक र अविच्छिन्न अङ्गको रूपमा चिनिन्छ। आम भेला गर्न, जनताले आफ्ना आवाज बुलन्द गर्न, सरकारलाई खबरदारी गर्न र ठूला राजनीतिक सभा–सम्मेलन गर्न यो क्षेत्र प्रयोग हुँदै आएको छ। विशेष गरी राजनीतिक ‘मञ्च’ कै रूपमा प्रयोग हुन थालेपछि यसको नाम नै ‘खुला मञ्च’ रहन गयो।
नेपालमा पञ्चायतकालको सुरुवातसँगै वि.सं. २०१८ सालतिरदेखि यसलाई औपचारिक रूपमा आमसभा र भाषण गर्ने मुख्य स्थल बनाइयो। त्यसपछि २०२६ देखि २०४६ सालको पञ्चायत विरोधी आन्दोलन होस् वा २०६२/६३ को दोस्रो जनआन्दोलन— देशमा परिवर्तनको आँधी ल्याउने हरेक ऐतिहासिक घटनाहरूको साक्षी यही खुला मञ्च बनेको छ।
तर, २०७२ सालको विनाशकारी भूकम्पका कारण यसको रूप पूर्ण रूपमा परिवर्तन भयो। भूकम्पपीडितका टहराहरू, वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका सामग्री, कामदार बस्ने शिविरहरू यहीँ थुपारियो।
पुरानो बसपार्क पनि यहीँ सारियो र जताततै अवैध सटर तथा पसलहरू खुलेर यो ऐतिहासिक मैदान कुरुप र अस्तव्यस्त बन्न पुग्यो। त्यसको विरोधमा नागरिक समाजले ‘अकुपाइ टुँडिखेल’ जस्ता आन्दोलनहरू समेत गर्नुपरेको थियो।
पछि, काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको पहलमा त्यहाँका सबै अवैध संरचना, बसपार्क र टहराहरू हटाइयो। त्यसलाई हरियाली चौर, वाकिङ ट्र्याक र व्यवस्थित सार्वजनिक स्थलका रूपमा पुनर्निर्माण गरियो। त्यएपछि मात्र यो मञ्च फेरि सभा तथा कार्यक्रम गर्न योग्य बनेको हो।
आज जुन ‘धन्न खुला मञ्च राम्रो बनाइएछ’ भनेर प्रधानमन्त्रीले दाबी गरेका छन्, त्यसको पृष्ठभूमि यही महानगरको सफाइ अभियानसँग जोडिएको छ।
खुला मञ्चमा ओजस्वी भाषण गर्ने युगीन नेताहरूको इतिहास
यो त्यही मञ्च हो, जहाँ उभिएर नेपालका कयौँ युगपुरुष र शीर्ष नेताहरूले आफ्ना ओजस्वी भाषणमार्फत देशको राजनीतिक दिशा बदल्ने बीजारोपण गरेका थिए।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले वि.सं. २०३६ साल जेठ २५ गते खुला मञ्चमै उभिएर पञ्चायती निरंकुशता विरुद्ध ओजस्वी शब्दमा शक्तिशाली भाषण दिएका थिए।
नेपालको कम्युनिस्ट आन्दोलनका लोकप्रिय जननेता तथा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले खुला मञ्चमा गरेका भाषणहरू नेपाली राजनीतिक इतिहासमा अत्यन्तै ओजस्वी र युगीन महत्त्व राख्ने मानिन्छन्।
२०४६ सालको जनआन्दोलनको सफलतापश्चात् उनले खुला मञ्चबाट जनताको बहुदलीय जनवाद (जबज) र राष्ट्रिय स्वाधीनताको पक्षमा दिएका तार्किक तथा ओजनदार भाषण सुन्न हजारौँको भिड लाग्ने गर्थ्यो।
पञ्चायतको अन्त्यपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला (२०४६ चैत २७ को विजयसभा), गणतन्त्र स्थापनापछि पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा लगायत मधेस आन्दोलनका सूत्रधार उपेन्द्र यादवले समेत आफ्ना राजनीतिक मुद्दाहरू जनतामाझ लैजान यही खुला मञ्चलाई प्रमुख स्पिकिङ प्लेटफर्मको रूपमा प्रयोग गरेका थिए।
संयोग कस्तो भने— इतिहासका यी दिग्गज नेताहरूको भाषणको साक्षी रहेको यही खुला मञ्चमा आइतबार भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नयाँ र पुराना अनुहारहरूले भाषण गरे।