काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभीए क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारका अनुसार अनुसन्धानका क्रममा यादवले आफ्नो पद तथा जिम्मेवारी बहन गर्ने क्रममा सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडान गर्नुपर्ने काममा बदनियतपूर्ण तवरले ढिलासुस्ती गरी अनावश्यक दु:ख–हैरानी दिएको पुष्टि भएको छ ।
सेवाग्राहीलाई घुस दिन बाध्य पारी विद्युत् लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरे–गराएबापत ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
आयोगले यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय तथा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर ५० हजार रुपैयाँ जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

आयोगले बिगो ५० हजार रुपैयाँ कायम गरी सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
