काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले नेपालको दिगो र समावेशी आर्थिक विकासका लागि कृषिको आधुनिकीकरणसँगै युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन् ।
कृषि क्षेत्रलाई आधुनिक प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र हरित अर्थतन्त्रसँग जोड्न सकेमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
नेपालको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर रहे पनि परम्परागत उत्पादन प्रणाली, सीमित प्रविधिको प्रयोग, बजारको अनिश्चितता, लगानीको अभाव तथा युवाको कृषि क्षेत्रबाट बढ्दो पलायनले यस क्षेत्रका सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न चुनौती खडा गरेको राणाले बताएकी छन् ।
उनले कृषि क्षेत्रलाई जीविकोपार्जनको माध्यमका रूपमा हेर्ने सोच परिवर्तन गरी यसलाई आधुनिक व्यवसाय, उद्यमशीलता र रोजगारीको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न पर्ने आवश्यकता औंलाएकी छन् ।
“आधुनिक प्रविधि, नवप्रवर्तन र उद्यमशीलतालाई कृषिसँग जोड्न सकियो भने कृषि युवाका लागि रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने क्षेत्र बन्न सक्छ,” राणाले भनिन्, “युवालाई कृषि तथा कृषि–सम्बन्धित व्यवसायमा आकर्षित गर्न सकेमा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा ठूलो योगदान पुग्छ ।”

नेपालमा युवाको ठूलो हिस्सा रोजगारी तथा अवसरको खोजीमा विदेश जाने गरेको अवस्थामा कृषि क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । युवालाई आधुनिक कृषि प्रविधि, वित्तीय पहुँच, बजार, तालिम र उद्यम विकासका अवसर उपलब्ध गराउन सकेमा कृषिलाई नयाँ पुस्ताको आकर्षक व्यवसायका रूपमा विकास गर्न सकिने उनले बताइन् ।

कृषिको आधुनिकीकरणका लागि प्रविधिको प्रयोगसँगै उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी र बजारीकरणको सम्पूर्ण मूल्य शृङ्खलालाई व्यवस्थित बनाउनुपर्नेमा राणाले जोड दिएकी छन् । कृषि उत्पादनलाई उद्योग तथा बजारसँग जोडेर मूल्य अभिवृद्धि गर्न सकेमा किसानको आम्दानी बढ्नुका साथै आयातमा निर्भरता घटाउन सहयोग पुग्ने उनको भनाइ छ ।

राणाले नेपालको कृषि क्षेत्र जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमको प्रत्यक्ष प्रभावमा रहेको बताउँदै अबको कृषि विकास जलवायु–मैत्री र उत्थानशील बनाउनुपर्नेमा जोड दिएकी छन् ।
अनियमित वर्षा, बाढीपहिरो, खडेरी, तापक्रममा वृद्धि तथा पानीको उपलब्धतामा हुने परिवर्तनले कृषि उत्पादनमा असर पारिरहेको अवस्थामा परम्परागत उत्पादन प्रणालीमा मात्र निर्भर रहन नसकिने उनको भनाइ छ ।
“जलवायु परिवर्तनका चुनौतीलाई बेवास्ता गरेर नेपालको कृषि क्षेत्रलाई दिगो बनाउन सकिँदैन,” राणाले भनिन्, “जलवायु–मैत्री कृषि, दिगो उत्पादन प्रणाली, पानी तथा माटोको संरक्षण र जैविक विविधताको संरक्षणलाई कृषि नीतिको केन्द्रमा राख्नुपर्छ ।”
उनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीय स्तरबाटै उपयुक्त कृषि प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको तर्क गरेकी छन् । कम पानीमा उत्पादन हुने बाली, माटोको उर्वराशक्ति जोगाउने प्रविधि, प्राकृतिक स्रोतको संरक्षण तथा वातावरणमैत्री उत्पादन प्रणालीलाई प्राथमिकता दिनुपर्ने उनले बताइन् ।
राणाले युवालाई कृषि र हरित अर्थतन्त्रसँग जोड्नका लागि केवल रोजगारीको अवसर सिर्जना गरेर मात्र नपुग्ने बताएकी छन् । युवाले आफ्नै उद्यम सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्न वित्तीय पहुँच, प्रविधि, सीप, बजार र नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ छ ।
उनले हरित अर्थतन्त्रको विकासले वातावरण संरक्षणसँगै रोजगारी र आर्थिक अवसर समेत सिर्जना गर्न सक्ने बताएकी छन् । त्यसका लागि सरकारले स्पष्ट नीति तथा प्रोत्साहनको व्यवस्था गर्नुपर्ने र निजी क्षेत्रले लगानी तथा नवप्रवर्तनमार्फत नेतृत्व लिनुपर्ने उनको भनाइ छ ।
उनले कृषि, प्रविधि, हरित वित्त, उद्यमशीलता र जलवायु उत्थानशीलतालाई एकीकृत दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा जोड दिएकी छन् । यस्तो नीतिगत तथा व्यावसायिक सहकार्यले नेपालको कृषि क्षेत्रलाई परम्परागत उत्पादन प्रणालीबाट आधुनिक, प्रतिस्पर्धी र दिगो व्यवसायमा रूपान्तरण गर्न सक्ने उनको भनाइ छ ।