काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो। नवनियुक्त डीसीईओ रेग्मी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा आफ्नो करिअर सुरु गरेका थिए। सन् २००९ देखि उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका रेग्मीले ग्लोबल आइएमई बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा व्यापार वित्त प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
त्यस्तै, रेग्मी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत छन्।
रेग्मीले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कस्थित कोपेनहेगन बिजनेस स्कुलबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।

ग्लोबल आइएमई बैंक आधुनिक प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ।

यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा विभिन्न सम्मान प्राप्त गरेको छ। बैंकले ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’लगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको जनाएको छ। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीनवटा प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंक वैधानिक माध्यममार्फत विदेशबाट नेपालमा विप्रेषण भित्र्याउने प्रमुख वित्तीय संस्थामध्ये एकका रूपमा स्थापित छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ।
बैंकका अनुसार वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउने तथा वित्तीय सेवाको पहुँच विस्तार गर्ने कार्यमार्फत बैंकले नेपालको अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ।