काठमाडौं । सन सेक्युरिटिजले मनिमेज इस्लिङ्टन कम्युनिटीसँगको सहकार्यमा इस्लिङ्टन कलेजका विद्यार्थीका लागि आयोजना गरेको ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न भएको छ ।
भदौ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा विद्यार्थीले सिमुलेसन प्लेटफर्ममार्फत सेयर खरिद–बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनको अभ्यास गरेका थिए ।
प्रतियोगिताका क्रममा सहभागीले बजार गतिविधि र कम्पनीहरूको प्रदर्शन विश्लेषण गर्दै विभिन्न लगानी तथा कारोबारसम्बन्धी निर्णय लिएका थिए ।
प्रतियोगितामा अच्छुर्ण काफ्ले विजेता बनेका छन् । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । अरुण भण्डारी उपविजेता बन्दै १५ हजार रुपैयाँ र सोनुकुमार द्वितीय उपविजेता बन्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
सन सेक्युरिटिजले युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान र पुँजी बजारको व्यावहारिक बुझाइ बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
