काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गरेपछि उक्त खण्डमा यातायात अवरुद्ध भएको छ ।
काभ्रेको रोशीमा आएको बाढीले वीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ भने ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण अवरुद्ध भएको छ ।
त्यसैगरी गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी कोरिडोरमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प छ ।
सल्यानको बनगाड कुपिन्डे नगरपालिका–११ मा पहिरो जाँदा बालुवासंग्रही सडक पनि पूर्ण रूपमा बन्द भएको छ । धादिङको धुनिवेशी नगरपालिका–९ मा पहिरो जाँदा त्रिभुवन राजपथ एकतर्फी भएको छ ।

नवलपरासीमा कालीगण्डकी कोरिडोर, म्याग्दीमा बेनी–जोमसोम सडक, मनाङमा बेशी सहर हुँदै खाङसारसम्म जाने सडक अवरुद्ध भएका छन् भने कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–९ को भेरी कोरिडोर एकतर्फी भएको छ ।

सुरुवामा गत भदौ १० गते गएको बाढीले बगाएको राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।

