काठमाडौं । दशैंको बिदा सुरु हुन चार दिनअघि अर्थ मन्त्रालयले ८५ जना उपसचिवको सरुवा गरेको छ । चाडपर्वको बिदा नजिकिँदै गर्दा मन्त्रालयले एकैपटक ठूलो संख्यामा उपसचिवको सरुवा गरेको हो ।
सरुवामा विभिन्न निकायमा कार्यरत उपसचिवहरू परेका छन् । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयमा कार्यरत उपसचिव अम्बिकाप्रसाद फुयाललाई अर्थ मन्त्रालयमा तानिएको छ । त्यस्तै, चोभार सुक्खा बन्दरगाहका निर्देशक दयानन्द केसीको पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
सरुवामा ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृतसमेत परेका छन् । कर प्रशासन, राजस्व परिचालन तथा मन्त्रालयअन्तर्गतका विभिन्न जिम्मेवारीमा कार्यरत उपसचिवहरूलाई समेटेर सरुवा गरिएको हो ।
सरुवा हुने उपसचिवहरूमा सुबोध खतिवडा, सन्तबहादुर ढकाल र सीता आचार्यलगायत छन् । एकैपटक ८५ जना उपसचिवको सरुवा हुँदा मन्त्रालय तथा मातहतका निकायको जिम्मेवारी र कार्यसम्पादनमा समेत फेरबदल हुने देखिएको छ ।



