काठमाडौं । औषधि उत्पादन तथा स्वास्थ्य सेवासँग सम्बन्धित कम्पनी आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सहकार्य गर्ने भएको छ। कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ ।
क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित कम्पनीले सहकार्य अघि बढाएको जनाएको छ। एनपीएललाई माध्यम बनाएर सर्वसाधारणसम्म स्वास्थ्यसम्बन्धी जानकारी पुर्याउने र स्वस्थ जीवनशैलीप्रति प्रोत्साहित गर्ने कम्पनीको लक्ष्य छ।
सहकार्यअन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, दर्शकको सहभागिता बढाउन मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिसमेत आयोजना गरिने कम्पनीले जनाएको छ।
आर्य फार्माल्याबले एनपीएलका खेलाडीको प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न प्रत्येक खेलमा दुई खेलाडीलाई ‘हेल्दी पार्टनरसिप अवार्ड’ प्रदान गर्ने भएको छ। उक्त अवार्ड प्राप्त गर्ने दुवै खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।त्यसैगरी, प्रत्येक खेलमा एक जना दर्शकलाई ‘हटविट मुमेन्ट अफ द म्याच’ अन्तर्गत २० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ। यी पुरस्कारले खेलाडीको योगदानको सम्मान गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउने अपेक्षा गरिएको छ।
कम्पनीले स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। लोकप्रिय खेल क्रिकेटसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ। कम्पनीका अनुसार, यस सहकार्यले एनपीएलको खेल अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै खेलकुदको लोकप्रियतालाई जनस्वास्थ्य प्रवद्र्धनमा उपयोग गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
