पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सोमपाल खेलको १५औँ ओभरमा आउट भएका हुन् । विपिन खत्रीको बलमा ठूलो सट प्रहार गर्न खोज्दा बल उनको ब्याटमा लागेर अगाडि खसेको थियो ।
त्यसपछि सोमपालले पुनः ब्याट घुमाउँदा बलमा लागेको थियो । उनले एकपटक खेलिसकेको बल फेरि खेलेपछि पोखराका फिल्डरले आउटको अपिल गरेका थिए ।
अनफिल्ड अम्पायरले उक्त घटनालाई डिसिजन रिभ्यु सिस्टम (डीआरएस) मार्फत जाँच गरेका थिए । रिभ्युमा सोमपालले फिल्डिङमा अवरोध गरेको देखिएपछि उनलाई आउट दिइएको थियो ।
क्रिकेटको नियमअनुसार ब्याटरले जानाजानी फिल्डिङमा बाधा पुर्याएमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट हुन सक्छन् । बल रोक्ने वा फिल्डरलाई बल समात्नबाट रोक्ने उद्देश्यले अवरोध गर्नु यस नियमअन्तर्गत पर्छ ।
क्रिकेटमा यसरी आउट हुने घटना निकै दुर्लभ मानिन्छ ।

