कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध छलफल गर्न संसदको विशेष अधिवेशन आवश्यक रहेको निष्कर्ष काँग्रेसले निकालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार संस्थापन पक्षीय पदाधिकारीको छलफलले संसद्को विशेष अधिवेशनको आवश्यकता औंल्याएको हो ।
काँग्रेस सहमहामन्त्री डा।प्रकाशरण महतका अनुसार १९ गते बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले संस्थागत निर्णय गरेपछि विशेष अधिवेशनका लागि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने छ । संसदमा रहेका अन्य विपक्षी दलसमेतको सहकार्यमा विशेष अधिवेशन बेलाउन पहल गर्ने महतको भनाइ छ ।
आफ्नै पार्टी नेकपामा अल्पमतमा परेपछि गत असार १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद अधिवेशन अन्त्य गराएका थिए । संसदको अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद बैठकले सिफारिस गर्नासाथ राष्ट्रपतिले पनि तत्कालै मन्त्रिपरिषदको सिफारिस अनुमोदन गरी संसद सचिवालयलाई अधिवेशन अन्त्य भएको जानकारी गराएकी थिइन् ।
लगत्तै असार २४ गते विपक्षी दल काँग्रेस र जसपाका शीर्ष नेताहरूबीच संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने विषयमा छलफल भएको थियो ।
तर काँग्रेस निर्णय गर्ने तहमा पुगेन । त्यतिबेला कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भनेर दुवै दलले विरोधमात्र गरे ।
काँग्रेसले केन्द्रीय समिति बैठकको निर्णयमार्फत नै सरकारको उक्त कदमको भर्त्सना गरेको थियो । तर सभापति देउवालाई सरकारसँग मिलेमतो गरेको आरोप पार्टीभित्रैबाट लागेपछि सरकारविरुद्ध उनी पनि आक्रामक ढंगले प्रस्तुत हुने रणनीतिमा लागेका छन् ।
काँग्रेसले संसद् अधिवेशनको मागसँगै सडकमा विरोधका कार्यक्रम समेत गर्ने भएको छ । सामाजिक दूरी पालना गरेर सरकारका अकर्मण्यता र भ्रष्टाचारविरुद्ध सडकबाट समेत आवाज उठाउने काँग्रेसको तयारी रहेको महत सहमहामन्त्री बताउँछन् ।
कहिलेदेखि कार्यक्रम गर्ने भन्नेबारेमा केन्द्र्रीय कार्यसमितिको बैठकले निर्णय लिने उनको भनाइ छ । ‘कोभिड–१९ संक्रमण नियन्त्रणका दिशामा सरकार अनुत्तरदायी भयो । यस्तो संकटको बेलामा समेत एकपछि अर्को भ्रष्टाचार र अनियमिताका काण्डमा संलग्न हुँदै जान थाल्यो,’ उनले भने, ‘मुख्य रुपमा यी दुई विषयमा छलफलका लागि संसदको विशेष अधिवेशन बोलाउनु पर्ने निष्कर्षमा काँग्रेस पुगेको हो ।’
पार्टीको संस्थापन इतरपक्षका नेताले समेत यसअघि विशेष अधिवेशनका लागि पहल गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।
यता संसदको तेस्रो ठूलो दल जसपा पनि संसदको विशेष अधिवेशनको पक्षमा देखिन्छ । त्यसैले पनि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले जसपासँग छलफल गरेर सहकार्यको तयारी गरेको हो ।
संविधान अनुसार संसदको विशेष अधिवेशन बोलाउन माग गर्न १६५ जना मध्ये ६९ जना सांसदको समर्थन आवश्यक पर्दछ। काँग्रेसका प्रतिनिधि सभा सदस्य ६३ जना छन्। तीमध्ये काँग्रेस उपनेता विजयकुमार गच्छदार र सांसद मोहम्मद आफ्ताव आलम निलम्बित रहेकाले ८ जना सांसद अपुग रहेकाले काँग्रेसले जसपाको साथ लिनुपर्छ ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु सुरुदेखि नै विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने पक्षमा रहेको रातोपाटीलाई बताए । ‘सरकारले हठात् संसद अधिवेशन अन्त्य गरेर जनताको मुखमा बुझो हाल्ने काम गरेकाले संसदको विशेष अधिवेशन बोलाउनु पर्छ भन्ने हाम्रो माग थियो,’ उनले भने, ‘एक्लै माग गर्ने सक्ने क्षमता थिएन । अनि काँग्रेससँग छलफल हुँदा विशेष अधिवेशन माग गर्न सल्लाह दिएका थियौँ । बोलाउन माग गरौँ भनेका थियौँ ।’
FACEBOOK COMMENTS